सिमरा घटना छानबिन गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा भएको घटनाको छानबिन र घाइतेहरूलाई प्रभावकारी उपचार गर्न सरकारलाई निर्देशन दिएको छ।

आयोगले आज(बिहिबार)विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न एवं घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो।

आयोगले शान्तिसुरक्षाको स्थिति मजबुत बनाउन र एक अर्काको अधिकारको सम्मान गर्न आग्रह पनि गरेको छ।

विज्ञप्तिमा भनिएको छ,‘बाराको सिमरामा २०८२ मंसिर ३ गते नेकपा एमालेका कार्यकर्ता र जेन्जी समूहकाबीच भएको घटना र सोपश्चात् उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ, आयोगले उक्त घटनाको अनुगमन गरिरहेको छ।’

आयोगका अनुसार एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंसिर ३ गते बाराको परवानीपुरमा आयोजना गरेको मधेश प्रदेश स्तरीय पूर्वनिर्धारित कार्यक्रममा भाग लिन सो पार्टीका केन्द्रीय नेताहरू सिमरा जान लागेको र स्थानीय जेन्जी समूहका संयोजकले मंसिर २ र ३ गते फेसबुकमार्फत गरेको आव्हानपछि सोही समयमा भदौ २३ र २४ गतेका मृतक तथा घाइतेहरूले न्याय नपाएको विषयमा सरकारलाई सचेत गराउने भन्दै बिहान करिब १० स् ३० बजे जेन्जी युवाहरू सिमरा चोकमा जम्मा भएका थिए।

सो स्थानमा नेकपा एमालेका कार्यकर्ता पुगेपछि दुई पक्षबीच विवाद भई असामान्य परिस्थिति सिर्जना हुँदा पाँच जना युवा घाइते भएको देखिएको आयोगले जनाएको छ। त्यसपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढी विमानस्थल अगाडि झडप हुँदा विमानस्थलको गेटमा समेत क्षति भएको, उडानहरू प्रभावित भएको, उडान प्रभावित हुँदा एमालेका नेताहरू सिमरा जान नसकेका र त्यसपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको पाइएको आयोगले जनाएको छ।

घाइतेहरूको नगर अस्पतालमा उपचार भएको र घाइते युवाहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरूद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको भन्ने प्रारम्भिक जानकारी आयोगलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।

आयोगले देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा समेत भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा समेत गम्भीर असर पर्नेतर्फ सरकार र सम्बन्धित सबै पक्ष गम्भीर हुन जरूरी रहेको जनाएको छ।

‘अतः शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवं घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’विज्ञप्तिमा उल्लेख छ।

आयोगले संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्ने गराउने कार्यमा सहयोग गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गरेको छ। यद्यपि जेनजी युवाहरूको प्रदर्शन जारी रहेपछि स्थानीय प्रशासनले बिहीबार पनि कर्फ्यू आदेश जारी गरेको छ।