प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन राष्ट्रपतिसँग जेनजीको माग
काठमाडौं। जेनजी युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन माग गरेका छन्। विभिन्न २३ वट जेनजी समूहले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।
‘विद्रोहको जगमा बनेको सरकारले विद्रोहीका न्यूनतम अपेक्षा पूरा गर्नुको साटो सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको पाइयो। तसर्थ, हामी उक्त विद्रोहमा संलग्न जेनजीका २३ एलायन्स,घाइते र शहीद परिवार यो सरकारले तत्काल विद्रोही पक्षका माग सम्बोधन गर्नुपर्छ।
ज्ञापनपत्रमा भनिएको छ,अन्यथा यदि यो सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्दैन भने यो सरकारलाई फिर्ता बोलाइ हाम्रो नेतृत्वमा नयाँ सरकार गठनको लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यूलाई यसै ज्ञापनपत्र मार्फत सामूहिक रुपमा जानकारी गराउँदछौं।
वर्तमान सरकारबाट मुलुकमा भएका ठूला भ्रष्टाचारमा संलग्नलाई कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन, जेनजी विद्रोहमा भएको नरसंहारमा संलग्नमाथि कारबाही, घाइतेको उपचार र शहीद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणको अपेक्षा गरिए पनि पूरा नभएको उनीहरुको निष्कर्ष छ।
