प्रहरी अनुसन्धानको निष्कर्षःटीओबीका कमान्डर तेन्जिङको आर्थिक अवस्था सामान्य
काठमाडौं। जेनजी प्रदर्शनका क्रममा ‘टीओबी’ टिसर्ट लगाएर आतङ्क मच्चाउने समूहका कमान्डर तेन्जिङ दावा लामाको आर्थिक अवस्था सामान्य रहेको प्रहरी अनुसन्धानले देखाएको छ। नागरिकता, राहदानी, लिखत बदर र लागुऔषध मुद्दामा थुनामा रहेका तेन्जिङ तिब्बती मूलका भएको प्रहरी निष्कर्ष छ।
सन् २००७ सम्म उनको पालनपोषण सौतेनी फूपूदिदी कुङ्गा डोल्माले गरेकी थिइन्। २०१७ मा बौद्धमा खोलेको ‘टीओबी ट्याटु हाउस’का लागि डोल्माले ४० हजार लगानी गरिदिएकी थिइन्। पछिल्लो तीन वर्षदेखि डेराको भाडासमेत उनैले बेहोरेकी थिइन्। ट्याटु व्यवसायबाटै तेन्जिङको गुजारा चल्थ्यो। ‘टीओबी’को अर्थ ‘तिब्बतियन ओरिजिनल ब्लड’ हो। २०२४ जुन १० मा स्थापना भएको यो समूहमा ५७ सदस्य छन्।
र्यापर सुरेन्द्र गुरुङ ‘हाकिम’लाई रोलमोडल मान्ने उनीहरूले सामाजिक सेवा र घुमफिरका नाममा समूह बनाएका थिए। तर भदौ २३-२४ मा जेनजी प्रदर्शनमा बुलेट मोटरसाइकल हुइँक्याउँदै उच्छृङ्खल गतिविधि गरेका थिए।
प्रदर्शनमा ३१ जना टीओबी सदस्य संलग्न थिए, जसमध्ये अधिकांश विद्यार्थी थिए । टीओबी ब्लड’ ह्वाट्सएप ग्रुपमा भदौ २२ मा नै प्रदर्शनमा सहभागी हुने सन्देश आदानप्रदान भएको थियो।
प्रहरीले १४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ भने चालकहरूलाई तारेखमा छाडिएको छ । तेन्जिङमाथि अभद्र व्यवहारमा ७५ सय धरौटी तिराइएको छ भने उनको जन्मदर्ता र नागरिकतामाथि पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
