चुनाव नजिकिएसँगै प्रचण्डको पुरानै दाउ, पटकपटक देश लुट्नेलाई जनताले चिनिराखौं

२०७४ सालमा माओवादी र एमालेबीच पार्टी एकीकरणको सम्झौता भयो । २०७४ मंसिर १० र २१ गते भएको संसदीय निर्वाचनमा दुई पार्टीले गठबन्धन गर्यो । ३३ सीट प्रत्यक्षसहित २० सीट समानुपातिकको गरेर माओवादीले कूल ५३ सीट जित्यो । २०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भयो ।

दुवै निर्वाचनमा पाँच दल मिलेर सहभागी भए । जसमा माओवादी पनि थियो । माओवादीले जम्मा ३२ सीट पायो । रोचक प्रसंग के भने, सबैभन्दा बढी मत ल्याएको काँग्रेसलाई सरकार बनाउन नदिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल २०७९ पुस ११ गते प्रधानमन्त्री बने । आगामी फागुन २१ गते निर्वाचन हुँदैछ । निर्वाचन नजिकिएसँगै प्रचण्डले पुरानै दाउ खोजेका छन् ।

विभिन्न नौं दलसँग मिलेर उनी चुनावमा सहभागी हुन खोजिरहेका छन् । बजारमा एउटा चर्चा छ, मजदुर किसान पार्टीको जस्तै हालत एकजुट भएका नौं दलको हुनेछ । २०४८ सालदेखि २०७९ सालसम्म निरन्तर चुनावमा भाग लिएको मजदुर किसान पार्टीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा मात्र विजयी हासिल गर्छ ।

यसपटक त मजदुर किसान पार्टीलाई त्यहाँपनि चुनाव जित्न सकस छ । प्रचण्डको सँधै एउटै खेल हुन्छ–जनतालाई ढाँट्ने, साना दललाई भर्याङ्ग बनाउने र ठूला दललाई धोका दिने । उनी पदका लागि जेपनि गर्ने नेतामा पर्छन् । जनयुद्धको कमाण्डर प्रचण्ड तीनपटक प्रधानमन्त्री भए । उनको पार्टीबाट चारपटक प्रधानमन्त्री भएका छन् ।

माओवादी जसको सरकार बन्छ, त्यसमा सहभागी भएको छ । प्रश्न उठ्छ–पटकपटक काम गर्ने ठाउँमा पुगेर माओवादीले गर्योचाँहि के ? माओवादीका अध्यक्ष प्रचण्डदेखि जम्मै नेता विलासित बने । देश र जनताका लागि भन्दै हिजो हतियार उठाएको नेतालाई ट्वाईलेटबाट उठाउनुपरेको खबरहरु बाहिरियो ।

रक्सी खाएर शौचालयमै लडेपछि उनलाई अरुले उठाएर अस्पताल पुर्याउनुपरेको विषय व्यापक चर्चामा आएको थियो । त्यति मात्र होइन, उनी आफ्नो नाँडीमा ७८ लाखको घडी बाँध्छन् । आफ्नी बुहारीलाई मन्त्री बनाएका उनले भाइलाई राष्ट्रिय सभाको अध्यक्ष बनाएका छन् ।

छोरी भरतपुरमा मेयर छिन् । अनि यस्तो व्यक्तिलाई जनताले फेरिपनि भोट देलान् ? के उनले अझैपनि जनता लाटो छन् भनेर सोचेका छन् ? जनताले अघिल्लोपटकको चुनावमा काँग्रेसलाई ८९ सीट दिए । तर, उनले काँग्रेसलाई सरकार बनाउन दिएनन् । काँग्रेस र एमालेलाई धोका दिने काम गरिरहे ।

जसले उनको नियत घामजस्तै छर्लङ्ग पारिदियो । पहिलोपटक संविधान सभाको निर्वाचन र देशमा राजतन्त्रको अन्त्य हुनुभन्दा अगाडि उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालसँग राष्ट्रपति दिन्छौं भनेर मौखिक सम्झौता गरे । गिरिजाकै बलमा २०६४ चैत २८ गते चुनाव भयो, २०६५ जेठ १५ गते देशबाट राजतन्त्र हट्यो ।

तर, उनले गिरिजालाई राष्ट्रपतिमा समर्थन गरेनन् । जसका कारण पहिलो संविधानसभाको निर्वाचनबाट संविधान बन्न सकेन । गिरिजालाई राष्ट्रपति दिएको भए, पहिलो संविधानसभाबाटै संविधान बन्ने थियो । उनी कस्तो व्यक्ति हुन् ? यसबाट पनि पुष्टि भयो । उनकै कमाण्डमा देशमा १० वर्ष जनयुद्द भयो ।

जसमा १७ हजारको ज्यान गएको छ भने हजारौं घाइते र बेपत्ता भएका छन् । जनताले आफ्नो छोराछोरी गुमाए, प्रचण्डले त्यो पीडा भोग्नुपर्यो ? उनले जनताको छोराछोरीलाई युद्दमा धकेलेर आफ्ना छोराछोरी जोगाए । त्यो त भयो नै, तर मन्त्री, मेयर बन्ने बेलामा पनि आफ्नालाई नै छाने ।

प्रचण्ड देश बनाउन होइन, देश सिद्धयाउन आएका व्यक्ति हुन् । १० वर्ष जनयुद्दको समयमा उनले खर्बौंको सरकारी सम्पत्ति ध्वस्त बनाइदिए । माओवादी शान्ति सम्झौतामा आएको १९ वर्ष लाग्यो । तर, यो अवधिमा माओवादीले के गर्यो ? काम गर्नको लागि त भिजन पनि हुनुपर्यो, जुन माओवादीसँग छैन ।

कसरी पदमा जाने र विलासित जीवन जिउने भन्नेमै ध्याउन्न हुनुको नतिजा अहिले माओवादीले भोगिरहेको छ । कुनैबेला पहिलो पार्टी भएको माओवादी अहिले ससाना पार्टीसँग गठबन्धन गर्दै हिँड्नुपरेको छ । अन्य पार्टीले के बुझ्नुपर्छ भने माओवादीसँग गठबन्धन गर्नु भनेको आफ्नो पार्टी पनि सकाउनु हो ।

माओवादीले २०५२ फागुन १ गते जनयुद्ध शुरु गर्दा जनसंख्या दुई करोडको हाराहारीमा थियो । त्यतिबेला एक नेपालीको टाउकोमा विदेशी ऋण तीन हजार थियो । पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जनसंख्या बढ्यो, ऋण पनि बढ्यो ।

अहिले एक नेपालीको टाउकोमा ९३ हजार रुपैयाँ वैदेशिक ऋण पुगेको छ । अनि यिनले देश बनाउँछन् ? देश डुबाउनेहरुलाई अझैपनि जनताले भोट दिन्छन् भने जनताको आँखा कहिल्यै खुल्दैन, देश कहिल्यै विकास हुँदैन । प्रचण्ड मात्र होइन, माओवादीमा भएका अन्य नेता पनि त्यस्तै छन् ।

जनार्दन शर्मा पटकपटक मन्त्री भए । शान्तिमन्त्री, जलस्रोतमन्त्री, गृहमन्त्री र अर्थमन्त्री भए । चारपटक मन्त्री हुँदा उनले सिन्को भाँचेका छैनन्। माओवादी नेताहरुले जानेको सुन तस्करी गर्न, सरकारी सम्पत्ति दोहन गर्न, भ्रष्टाचार गर्न, थर्काउन र लुट्न हो । झुठ बोल्नलाई माओवादीलाई कसैले भ्याउँदैन ।

माओवादीबाट टुक्रिएर गएको र माओवादीमा भएकाहरु सबै उस्तै छन् । माओवादीले जनताको मतको कदर गरेको भए, भदौ २३ र २४ गतेको घटना हुँदैनथ्यो । जनताले काँग्रेसलाई पहिलो पार्टी बनाएर पठाएको थियो । तर, प्रचण्डले जालझेल गरेर काँग्रेसलाई सरकार नै बनाउन दिएन ।

एउटा कुरा के स्पष्ट छ भने–माओवादीले कहिल्यैपनि जनतालाई सुःखसँग बाँच्न दिँदैन । हिजो १० वर्ष जनयुद्दमा पनि जनतालाई शान्तिसँग बाँच्न दिएन, अहिलेपनि त्यहीँ गरिरहेको छ । काँग्रेसलाई सरकार चलाउन दिएको भए, अहिलेको अवस्था नै सिर्जना हुँदैनथ्यो । ७६ जनाको ज्यान जाँदैन्थ्यो, खर्बौंको सम्पत्तिमा क्षति हुँदैनथ्यो ।

२०८४ मा निर्वाचन हुन्थ्यो । २०७९ मा भएको निर्वाचनमा राज्यको खर्बौं खर्च भएको छ । फागुन २१ गते चुनाव गराउँदा फेरि अर्बौं लाग्ने भएको छ । माओवादीले ‘गाउँगाउँमा सिंहदरबार’ को नारा लगायो । गाउँगाउँको सिंहदरबार अहिले जनतालाई नै टोक्नु न बोक्नु भएको छ ।

देशमा सात प्रदेश र ७५३ स्थानीय पालिका छ । प्रदेश र स्थानीय पालिका आफ्ना कार्यकर्ता भर्ती गर्ने थलो मात्र बन्यो । जनताको सेवा गर्न आएका भनिएका जनप्रतिनिधिहरु जनताले तिरेको करमा दर मार्नैमा व्यस्त छन् । देश संघीयतामा गयो तर जनता र राज्यलाई के फाइदा भयो?

प्रशासनिक भवन भनेका छन्, घुस खाएका छन् । वडाध्यक्षदेखि मेयर र सांसद्सम्मले सरकारी गाडी चढेका छन् । मासिक लाखौं रुपैयाँ तलबभत्ता बुझेका छन् । करारमा आफ्ना कार्यकर्ता भर्ती गरेका छन् । अब भनौं–माओवादी देश बनाउन आएको रहेछ कि देश लुट्न ? जनयुद्द शुरु गर्दा माओवादीका नेताहरुले आफ्नो पुर्ख्र्यौली सम्पत्तिसमेत राष्ट्रलाई दिने घोषणा गरे ।

तर, यिनीहरुले त राष्ट्रलाई दिने होइन, राज्यकोष लुटे । चप्पल लगाउन सक्ने हैसियत नभएका नेताहरु अहिले महलजस्तो घरमा बस्छन् । कराडौं पर्ने गाडी चढ्छन् । छोराछोरी विदेश पुर्याएका छन् । पदमा पुगेर भ्रष्टाचार गरेर अंकुत सम्पत्ति जोडेका छन् । यस्ताको अनुहार जनताले राम्ररी चुनिराखौं । देश लुट्ने जोसुकै होस्, तिनलाई ठीक पार्न आवश्यक भइसकेको छ । यो गर्न सक्ने जनता नै हुन् ।