सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माणमा सरकार गम्भीर छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी छन् ।

आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमा बोल्दै प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी हुन् ।

नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनको अपरिहार्यता देखिएको उनले बताए ।

उनले सामाजिक सुरक्षाको सफल कार्यान्वयबाट नै हुनेले नहुनेलाई, धनीले गरीबलाई, निरोगीले रोगीलाई प्रणालीबद्ध रुपले सहयोग गर्ने सामाजिक ऐक्यबद्धताको सिद्धान्तमा आधारित उत्पादनमूलक समाजको निर्माण हुने जिकिर गरे ।

प्रधानमन्त्री कार्कीले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको सफल कार्यान्वयनबाट हरेक नागरिकलाई स्वदेशमा नै श्रम गरेर बस्ने वातावरण तयार हुने र समग्र उत्पादकत्व अभिवृद्धि गर्ने आधार निर्माण गर्न सकिने विश्वास व्यक्त गरे । सरकारी करारमा रहेका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध भएको महसुस गराउने र कोषको रकमलाई न्यायोचित प्रतिफलसहित राज्यले आन्तरिक पुँजीको रुपमा परिचालन गर्ने विषयहरुमा सरकारले छलफल गर्ने उनले प्रतिवद्धता जनाए ।

हालसम्म साढे २६ लाख नागरिक योगदानमा आधारित सामाजिक सुरक्षाको छाताभित्र समेटिएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए । कोषमा हालसम्म रु ९५ अर्ब ६८ करोड योगदान रकम सङ्कलन भइसकेको छ । दुई लाख ५३ हजार एक सय ४३ श्रमिकले विभिन्न सुविधाबापत रु १७ अर्ब ७२ करोड दाबी भुक्तानी लिइसकेको उनले बताए।

‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ बिहीबार आठौँ सामाजिक सुरक्षा दिवस मनाइएको हो । नेपालको संविधानमा उल्लिखित सामाजिक सुरक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो।