काठमाडौंमा सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बैंकमा काम गर्ने महिला कर्मचारीका साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरूलाई पक्राउ गरी बिहीबार (मंसिर ११) सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा स्याङ्जा घर भई तारकेश्वरमा बस्दै आएका २७ वर्षीय ईश्वर बुढाथोकी,नुवाकोटका क्रमशः २० वर्षीय विशाल राई,१८ वर्षीय साजन तामाङ र १९ वर्षीय समीर तामाङ छन्। यही मंसिर ८ गते महिलालाई लुटपाट गरी उनीहरू फरार रहेका आरोप छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले साँझको समयमा हिँडेर घर फर्कने क्रममा महिलाको साथमा रहेको नगद, सुन, बैंकका चाबी, मोबाइल सेट र महत्त्वपूर्ण कागजातसहितको झोला लुटपाट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

उनीहरूले मोटरसाइकलमा आएर लुटपाट गरी भागेका थिए। पक्राउ परेकासँग प्रहरीले मोबाइल,चाँबीको झुप्पोलगायत सामानसहित १२.६३० ग्राम सुनको झुम्का, ७.८ लालको सुनको टप र दुई हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।