उपकरण खरिदमा हुने अनियमितता अध्ययन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं। स्वास्थ्य उपकरणको खरिदमा हुने अनियमितता र विवादबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञ समिति गठन गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार पूर्व सचिव सुरेश प्रधानको नेतृत्वमा गठित उक्त समितिमा स्वास्थ्य मन्त्रालयका पूर्व वरिष्ठ अधिकारी डा. भीमसिंह तिंकरी‚ मन्त्रालयका तर्फबाट डा. चुमनलाल दास र हालका व्यवस्थापन महाशाखाका निर्देशक केशवराज पण्डित रहेका छन्।

स्वास्थ्य क्षेत्रको खरिद प्रक्रियामा पछिल्ला वर्षमा विवाद बढ्दै गएको छ। अख्तियारले १४ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेपछि उनीहरू निलम्बनमा परे।

यसका कारण मन्त्रालयभित्र कर्मचारीहरूको मनोबल कमजोर भएको र उपकरण खरिदको लागि गरिएको सम्झौता पनि रद्द गर्दै आइएको छ। यस्तो अवस्थामा कहाँनिर कमजोरी छ भनेर पत्ता लगाउन विज्ञ समिति गठन गरिएको डा.बुढाथोकीले बताए।

स्वास्थ्य उपकरण खरिदमा हुँदै आएको विवाद,अनियमितताबारे छानबिन गर्न समिति गठन गरिएको हो ६ हप्ताभित्र उक्त समितिले राय सहितको प्रतिवेदन पेश गर्ने छ र सोहीअनुसार अबको दिनमा उपकरण खरिद प्रक्रिया अगाडि बढ्छु‚ मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भने।

मन्त्रालय तथा मातहतका निकायमा स्वास्थ्य सामग्री खरिदलाई कसरी अझ पारदर्शी,सहज र गुणस्तरीय बनाउन सकिन्छ भन्ने विषयमा समितिको मुख्य ध्यान रहनेछ। समितिले आवश्यक अध्ययन पूरा गरी खरिद प्रणालीमा नीतिगत सुधारका लागि सिफारिससहितको प्रतिवेदन मन्त्रालयलाई बुझाउनेछ।

स्वास्थ्यमन्त्री डा.सुधा गौतम शर्माले मन्त्रालयको जिम्मेवारी समालेको दिन स्वास्थ्य सेवामा हुने खरिदमा हुने अनियमितता रोक्ने प्रतिबद्धता जनाएकी थिइन्।

पछिल्लो पटक थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा.संगीता कौशल मिश्रा, निर्देशक डा.श्रवणकुमार थापा,वरिष्ठ स्वास्थ्य प्रशासक डा.सुरेन्द्रप्रसाद चौरसिया,निर्देशक डा.विवेक कुमाल लाल,प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्लेविरुद्ध मुद्दा दायर गरेको थियो।