१४ करोड लुटपाट गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी परिसरमा रहेको प्राइड क्यासिनोबाट रकम लुटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । भदौं २४ गते जेनजी प्रदर्शनको क्रममा प्राइड इन्टरटेनमेन्ट प्रालीमा लुटपाट भएको थियो ।

लुटमा संलग्न आरोपमा प्रहरीले दावा सेट्टी र रञ्जित खड्गी ‘रणे’लाई पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताएका छन् ।

सेट्टी र रणेले खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेर लुटपाट गरेर हिँडेको भिडियोमा देखिएको प्रहरीले जनाएको छ । उनीहरुले क्यासिनोबाट १४ करोड नगद लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको थियो।