एमाले प्रतिनिधि छनोट विवाद मिलाउने जिम्मा प्रदेश र जिल्ला इन्चार्जलाई
काठमाडौं। नेकपा एमालेले ११औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा देखिएको विवाद मिलाउने जिम्मा सम्बन्धित प्रदेश कमिटीलाई दिएको छ।
मङ्सिर २७ देखि २९ सम्म हुने महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा विवाद देखिएका क्षेत्रको विवाद मिलाउने जिम्मा एमालेले प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र केन्द्रीय सङ्गठन विभागले खटाएका सदस्य (प्रतिनिधि) लाई दिएको हो।
सुदूरपश्चिमको बझाङ,कर्णालीको दैलेख र सल्यान,मधेसको पर्सा र रौतहट तथा गण्डकीको तनहुँ क्षेत्र नम्बर १ र कोशीमा ओखलढुङ्गा र धनकुटामा विवाद देखिएको थियो।
सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले कतिपय अन्तर्विरोध देखिएका केहि स्थानमा मिलिसकेको र कतिपयमा आज बेलुकासम्म विवाद मिलिसक्ने बताए।
नेकपा एमालेले मङ्सिर १३ गते देशभर प्रतिनिधि छनोट गरेर मङ्सिर १५ भित्र छनोट भएका प्रतिनिधिको नाम केन्द्रमा पठाउन सर्कुलर गरेको थियो । तर, केन्द्रको सर्कुलर अनुसार प्रतिनिधिहरूको नाम तोकिएको समयमा केन्द्रमा आइसकेको छैन।
