कोठा–जागिर खोजिदिने नाममा बढ्दो ठगी,सरकार बेखबर
रुषा थापा
‘कामदार चाहियो, मासिक १५ हजारदेखि २५ हजारसम्म तलब, बिहान १० बजेदेखि बेलुका ५ बजेसम्ममात्र काम गर्नुपर्ने, खाजा, गाडीभाडा पाइने र अन्य सेवासुविधा पनि उपलब्ध, एसईई वा प्लस टु पास गरेकालाई पहिलो प्राथमिकता’ भनि सम्पर्क नम्बरसहित लेखिएका पोस्टरहरु अहिले काठमाडौं उपत्यकाका सार्वजनिक विद्युतीय पोल, भित्ता, आकाशे पुलहरुमा छ्यापछ्याप्ती देखिन्छन् ।
राम्रो तलब र सेवासुविधा देखेपछि धेरैले पोस्तरमा विश्वास गरेर सम्पर्क गर्छन् । तर, फोन गरेपछि ठ्याक्कै उल्टो हुन्छ । त्यो नम्बर जागिर लगाइदिने कम्पनीहरुको हुन्छ । अनि कम्पनीले सम्बन्धित व्यक्तिलाई अफिस आउन आग्रह गर्छ । अफिस गएपछि पाँच सयदेखि १५ सय रुपैयाँसम्म तिरेर फाराम भर्न लगाइन्छ । फाराम भरेको एकदेखि तीन महिनासम्म जागिर पाइने कम्पनीले आश्वासन देखाउँछ ।
यद्यपि, त्यस्तो हुँदैन । फाराम भरेपछि कम्पनी सम्पर्कविहीन हुन्छ । र, केहीगरी जागिर लगाइदिए सित्तैमा काम दलाइन्छ । कम्पनी काम लगाइदिएर बेपत्ता हुन्छ, अनि सम्बन्धित व्यक्तिले एकदेखि ६ महिनासम्म काम गर्दा पनि तलब पाउँदैनन् । यसरी पछिल्लो समय जागिरको प्रलोभन देखाएर ठग्ने र शोषण गर्ने क्रम बढ्दो छ । मुलुकमा बेरोजगारी बढ्दो छ । काम नपाएर वा काम गरेको ठाउँबाट तलब नपाउँदा मानिसहरु तनावमा छन् ।
यस्तो अवस्थामा आकर्षक रोजगारी देखेपछि जोकोही लोभिहाल्छन् । तर, उनीहरुको फाइदा यस्ता शोषक, सामन्ती र दलालहरुले उठाइरहेका छन् । जागिर पाउने आशामा एक–दुई जनामात्रै होइन, लाखौं सर्वसाधारण ठगिएका छन्, शोषणमा परेका छन् । विडम्बना, उनीहरुले उजुरीसमेत दिन सकेका छैनन् । किनकि उनीहरुसँग प्रमाण नै हुँदैन । अर्कोतर्फ, १५ सय रुपैयाँ ठगेको पनि के उजुरी दिनु भनेर धेरै मौन बस्ने गरेका छन् ।
यसैले गर्दा पनि त्यस्ता ठग, दलालहरुको मनोबल बढेको छ । जागिरसँगै कोठा खोजिदिने नाममा पनि उत्तिकै ठगी भइरहेको अवस्था छ । कोठा खोज्दै मानिसहरु आफ्नो घर आइपुग्दा घरधनीहरु खाली भएपनि दिँदैनन् । भन्छन्–अफिसमार्फत कोठा खोज्नुस् । अनि अफिस भएपछि एउटा कोठा खोजेबापत शुरुमा पाँच सयदेखि एक हजार वा फ्ल्याटको एक हजारदेखि दुई हजारसम्म तिरेर फाराम भर्नुपर्छ ।
त्यसरी फाराम भरेको एक महिनाभित्र कम्पनीले कोठा खोजिदिन्छ । कोठा खोजेपछि पनि कम्पनीलाई फेरि रकम तिर्नुपर्छ । एउटा कोठा खोजेको दुई हजार र फ्ल्याट खोजेबापत पाँच हजारदेखि दश हजारसम्म तिर्नुपर्छ ।
उता, घरधनीहरुलाई एकदेखि तीन महिनाको भाडा पहिल्यै तिर्नुपर्छ । कम्पनीहरुले घरधनीलाई कमिशन दिने गर्छन् । कोठा खाली भएमा कसैलाई नदिई कम्पनीलाई बताउन भन्छन् । र, खाली कोठामा महँगो भाडा तिर्ने मान्छे ल्याइदिने र कमिशन पनि दिने भनेपछि घरधनीहरु मख्ख हुँदै कम्पनीमार्फत नै कोठा भाडामा लगाउँछन् । आज उपत्यकामा कम्पनीमार्फत मात्र कोठा, फ्ल्याट, सटर पाइन्छ ।
अर्कोतर्फ, कम्पनीमार्फत बसेको ठाउँमा कुनै पनि सेवासुविधा उपलब्ध हुँदैन । पानी न लुगा सुकाउने ठाउँ । अध्याँरो, चिसो कोठाको दश हजारदेखि २० हजार रुपैयाँ भाडा असुलिन्छ । अनि चर्को भाडा र कुनै पनि सेवासुविधा नभएपछि दुई–तीन महिनामै सम्बन्धित व्यक्ति अन्य ठाउँ सर्छ । अनि त्यो व्यक्ति सरेपछि अर्कोलाई फसाइन्छ ।
यसरी कोठाको नाममा पनि दलालीहरुको ठगीधन्दा मौलाउँदो छ । सरकार यस्ता ठगहरुलाई कारबाही गर्दैन । उजुरी दिन निकाय पनि छैन । अनि ठगहरुको मनोबल झनै बढिरहेको छ । आफूहरुले जतिसुकै जनता ठगेपनि, लुटेपनि केही हुँदैन भन्ने छाप उनीहरुमा बसेको छ । अब सरकारले यस्ता ठगहरुलाई कारबाही गर्नैपर्छ । कुनै पनि बहानामा जनता ठग्न पाइँदैन । जनता पनि सचेत हुनुपर्यो । दलालीहरुको लहैलहैमा लाग्नुपर्छ ।
साथै, केहीगरी शंका लागेमा प्रमाण जुटाइराख्नुपर्छ । यसले तिनीहरुमाथि कारबाही गर्न सहज हुनेछ । गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारी छैन । छोराछोरी पढाउन, उपचार गर्न वा रोजगारी खान मानिसहरु गाउँमा आफ्नो खेत बाँझो छोडेर, घर र मतानमा ताल्चा लगाएर शहर पसे । अनि शहरमा उनीहरुमाथि एकपछि अर्को प्रकार भइरहेको छ । गाउँका मानिसहरु सोझा हुन्छन् । उनीहरु अरुले जे भन्छन्, त्यसमा सहजै विश्वास गर्छन् ।
जसको फाइदा यस्ता कोठा–जागिर खोजिदिने नाममा अफिस खोलेर ठगीधन्दा चलाइरहेका दलालहरुले उठाइरहेका छन् । शहरमा आएपछि शुरुमा त कतिपय आफन्तको घरमा बस्छन् । तर, कतिञ्जेल आफन्तको घरमा बस्नु ? त्यसपछि उनीहरु कोठा खोज्दै हिँड्छन् । तर, घरधनीहरुले कोठा खाली भएपनि नदिएपछि र अफिसमार्फत आउनुस् भनेपछि उनीहरु त्यस्ता कार्यालय पुग्छन् । त्यहाँ पुगेपछि फाराम भर्नेदेखि विभिन्न बहानामा उनीहरु ठगिन्छन् ।
तर, ठगिएपछि कहाँ उजुरी दिने ? कसरी दिने ? भनेर धेरैलाई थाहा हुँदैन ? अनि उनीहरु लाचार बन्न पुग्छन् । यसरी मानिसहरुको मजबुरीको फाइदा उठाएर दलालहरुले लुटिरहेका छन् । सरकार पनि न त्यस्ता कम्पनीलाई कारबाही गर्छ न जनतालाई सचेत गराउँछ । अर्कोतर्फ, कोठा–जागिर खोजिदने नाममा खुलेका अधिकांश कम्पनी सरकारका कुनै पनि निकायमा दर्ता भएको पनि पाइँदैन । यस्ता कम्पनीहरुको आम्दानी मासिक लाखौंमा हुने गरेको छ तर राज्यलाई सुको कर तिर्दैनन् । एकातिर राज्यलाई कर नतिर्ने, अर्कोतिर जनता ठग्ने । अब सरकार एक्सनमा जानैपर्छ । जनता र राज्य ठग्ने यस्ता दलालहरुलाई कडा कानूनी कारबाही गरिनुपर्छ ।
कम्पनीसँगै व्यक्तिहरुले पनि रोजगारीको नाममा गरिब, बेरोजगार जनताहरुलाई ठगिरहेका छन् । आफ्नो घरमा भाडा माझ्न, लुगा धुन, भुइँ पुछ्न मासिक पाँच हजारदेखि बढीमा सात हजार तलबमा महिला–युवतीलाई राखिन्छ । उनीहरुलाई एकदेखि तीन महिना काम लगाइन्छ । अनि काम राम्रो गरेन भन्दै तलब नै नदिई निकालदिने प्रवृत्ति मौलाउँदो छ ।
ड्राइभरहरुलाई पनि यस्तै गरिन्छ । केही महिना काम लगाएपछि तलब दिनु नपरोस् भनेर तेल चोरीको आरोप लगाइन्छ कि लापरबाहीपूर्वक गाडी चलाएको भन्दै तलब नै नदिई कामबाट निकालिन्छ । यसरी शोषक, सामान्तीहरुले गरिब जनताको रगत, पसिना चुसिरहेका छन् । मुलुकमा लोकतन्त्र गणतन्त्र त आयो तर गरिब जनतामाथि हुने यस्ता अत्याचार अझै जारी छ । अब सरकार आफैं अनुगमनमा निस्कनुपर्छ । जनता ठग्ने र शोषण गर्ने जोकोहीलाई कडा कारबाही हुनुपर्छ ।
