सरकारलाई हर्क साम्पाङको प्रश्न-सेनाको दुरुपयोग गरी गरिब जनताको बस्तीमा किन आतंक फैल्याइयो?
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले सेनाको दुरुपयोग गरी सुकुम्बासी बस्तीमा आतंक फैलाएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष राईले चीन र भारतबीच लिपुलेक मार्ग हुँदै भइरहेको द्विपक्षीय व्यापारका सम्बन्धमा सरकारले प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको बताए। उनले सेनालाई सीमा सुरक्षामा खटाउनुको सट्टा सुकुम्बासी बस्ती हटाउन प्रयोग गरिएको भन्दै आपत्ति जनाए।
अध्यक्ष राईले गरिब सुकुम्बासीलाई घरबारविहीन बनाई आत्महत्यासम्म गर्न बाध्य पार्ने सरकार असफल भइसकेको टिप्पणी गरे। उनले प्रश्न गरे, ‘नेपाली सेनालाई सुरक्षाका लागि लिपुलेकतिर पठाउनुपर्नेमा सुकुम्बासी बस्तीमा दादागिरी देखाउन किन पठाइयो रु’
उनले थप भने– ‘लिपुलेकमा भारतले नाका खोलेर व्यापार सञ्चालन गरिरहँदा सरकार किन मौन छ ? कूटनीतिक वार्ता किन हुन सकेनरु हस्ताक्षरविहीन कूटनीतिक चिर्कटोको भरमा सरकार किन लुकेर बसेको छ ? सेनाको दुरुपयोग गरी गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो ? सरकारले यसको जवाफ दिनुपर्छ ।
आज देश अभिभावकविहीन बनेको उल्लेख गर्दै उनले लाखौँ सुकुम्बासीलाई रुवाउने र नागरिकको मौलिक हक उल्लंघन गर्ने सरकारको कुनै औचित्य नभएको दाबी गरे । साथै, संसद् अधिवेशन बोलाउनुपर्ने समयमा सरकारले अध्यादेश ल्याएर जनमतको अपमान गरेको समेत उनले आरोप लगाए ।
