रविविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा सुनुवाइ आज हुँदैछ । युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।

लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।

२०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले पनि लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के कुन प्रयोजनका लागि प्रयोग गरेका (दुरुपयोग गरेका) थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने रिट निवेदनमा माग छ।

दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिन निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि रिटमा माग गरिएको छ ।