मधेश सरकारको छड्के निरीक्षणमा ७२ कर्मचारी कारबाहीमा
जनकपुरधाम । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारअन्तर्गतका १८ वटा कार्यालयमा छड्के निरीक्षण गर्दा ७२ जना कर्मचारी कारबाहीमा परेका छन् ।
पुस १ र २ गते गरिएको निरीक्षणमा पहिलो दिन ४८ जना र दोस्रो दिन २४ जना कर्मचारीले नियम उल्लङ्घन गरेको पाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। निरीक्षणका क्रममा पूर्वस्वीकृति बिना अनुपस्थित, तोकिएको पोषाक नलगाएको, हाजिर नगरेको लगायतका अनियमितता भेटिएका थिए ।
कारबाहीमा परेका कर्मचारी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, विभिन्न मन्त्रालय, निर्देशनालय, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्रलगायतका कार्यालयमा कार्यरत रहेका छन्।
कारबाहीमा पर्नेमा ५५ जना पुरुष र १७ जना महिला छन्। तहगत रूपमा उपसचिव २ जना, शाखा अधिकृत सरहका ४१ जना, नायब सुब्बा सरहका १६ जना, खरिदार सरहका ४ जना, सवारी चालक ३ जना र कार्यालय सहयोगी ६ जना रहेका छन्।
मुख्यमन्त्री कार्यालयका अनुसार ३४ जना कर्मचारी पूर्वस्वीकृति बिना अनुपस्थित थिए भने ३८ जनाले तोकिएको पोषाक लगाएका थिएनन्। नियम उल्लङ्घन गर्ने कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही गरी सम्बन्धित निकायमा विवरणसहित पत्राचार गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्ता छड्के निरीक्षणलाई निरन्तरता दिँदै मधेश प्रदेशका बाँकी सात जिल्लामा समेत अनुगमन गर्ने जनाएको छ।
