एमाले नेतृत्वलाई छोएका दिन देश खत्तम हुन्छ: ओली

काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि पार्टी नेतृत्व सम्हालेपछि वर्तमान अन्तरिम सरकारलाई कडा चेतावनी दिएका छन्। भृकुटीमण्डपमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले एमालेमाथि भौतिक आक्रमण, झूटा मुद्दा र पञ्चायती शैलीका गतिविधि भइरहेको आरोप लगाउँदै भने,एमाले नेतृत्वलाई छोएका दिन देश खत्तम हुन्छ। यदि झूटा मुद्दामा छुने प्रयास भयो भने सरकार ढल्छ, हामी ढालिदिन्छौँ। ओलीले एमालेलाई छोएमा संसारमै महँगो पर्ने गरी देशव्यापी कडा जवाफ दिने चेतावनी दिए।

‘फेरि आक्रमणको प्रयास भयो भने प्रतिकार हुन्छ,उनले भने। ओलीले लोकतन्त्रका लागि जीवनभर सङ्घर्ष गरेको पार्टीलाई बदनाम गर्ने प्रयासको आलोचना गर्दै वर्तमान सरकार चुनाव गराउनेतर्फ नभई षड्यन्त्रमा लागेको आरोप लगाए।

जेनजी समूहसँग भएको सम्झौतालाई षड्यन्त्र भन्दै उनले यो सरकार निर्वाचनका लागि नभएको बताए । उनले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे । देशमा अराजकता फैलाउने प्रयास भइरहेको भन्दै ओलीले कार्यकर्ता र नागरिकलाई सतर्क रहन आग्रह गरे।