राष्ट्रपतिले ओली, देउवा र प्रचण्डसँग छलफल गर्दै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । उनले आज नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन्।
राष्ट्रपतिको कार्यालयले दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल हुने जनाएको छ।
तर, पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा कुराकानी हुने बताइएको छ।
