१७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी दरबार सङ्ग्रहालय
काठमाडौँ । स्थापनादेखि हालसम्म नारायणहिटी दरबार सङ्ग्रहालय अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या साढे ४७ लाख नाघेको छ। गएको मङ्सिर मसान्तसम्म कुल ४७ लाख ७७ हजार ७ सय जनाले सङ्ग्रहालय भ्रमण गरेका छन्।
शाहवंशीय राजतन्त्रको अन्त्यपछि नारायणहिटी राजदरबारलाई २०६५ साल असार १ गते सङ्ग्रहालयमा रूपान्तरण गरिएको हो । सोही दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विधिवत् रूपमा उद्घाटन गरे पनि सर्वसाधारणका लागि भने २०६५ साल फागुन १५ गतेदेखि खुला गरिएको थियो।
सरकारले प्रवेश शुल्कका रूपमा विद्यार्थीबाट ५० रुपैयाँ, नेपाली नागरिकबाट २०० रुपैयाँ, सार्क राष्ट्रका नागरिकबाट ५०० रुपैयाँ र अन्य विदेशी नागरिकबाट १,००० रुपैयाँ लिँदै आएको छ । सङ्ग्रहालय हप्ताको मङ्गलबार र बुधबार बन्द रहने गर्छ भने शनिबारसहित अन्य सार्वजनिक बिदाका दिनमा खुला रहन्छ ।
