देश जोगाउने सुरक्षाकर्मीलाई बयान र कारबाही,भीड उक्साउने रवि र बालेनलाई नगर्ने सजाय ?

भदौ २३ गते जेनजीहरुले आन्दोलनको घोषणा गरे । माइतीघर मण्डलाबाट र्यालीसहितको सो आन्दोलनमा जेनजी उमेर समूहलाई सहभागी हुन आह्वान गरिएको थियो । सो आन्दोलनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र त्यतिबेला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खुलेरै एक्युबद्धता जनाएका थिए ।

उमेरका कारण आफू उपस्थित हुन नसकेतापनि २८ वर्षमूनिका सबैलाई आन्दोलनमा सहभागिता जनाउन भनिएको थियो । उनीहरुले एक्युबद्धता जनाएपछि स्कुलका विद्यार्थीदेखि बालेन र रविका समर्थक सडकमा आए । तर, एकाएक आन्दोलनले हिंसात्मक र ध्वशांत्मक रुप लियो ।

शान्तिपूर्ण भनेर सिडियो कार्यालयबाट अनुमति लिएकोमा तोडफोड र आगजनी गर्ने काम भयो । जेनजी प्रदर्शनमा झण्डै ८० जनाको ज्यान गयो। हजारौं घाइते भए । जनताले तिरेको करबाट बनेको सरकारी भवन र खरिद गरिएको गाडीमा ८४ खर्बको क्षति पुगेको छ । व्यक्तिको सम्पत्तिमा पनि सोहीबराबर क्षति भएको छ ।

कानुनले भन्छ,‘चोर्नेभन्दा चोरी गर्न उक्साउने बढी दोषी हुन्छन् । मार्नेभन्दा मार्न उक्साउन बढी दोषी हुन्छन् ।’ अब भनौं–रवि र बालेनमाथि अनुसन्धान हुने कि नहुने ? रवि र बालेनले नउक्साएको भए, त्यत्रो भीड जम्मा हुँदैनथ्यो । देशमा यत्रो क्षति र दर्जनौंले ज्यान गुमाउनुपर्ने थिएन । सरकारले अनुसन्धान शुरु गर्ने हो भने बालेन र रविबाट गर्नुपर्छ ।

किन कि, आन्दोलनलाई उक्साउने र भित्री रणनीति बनाउने यिनै हुन् । आन्दोलनको नाममा संसद भवन छिर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाए । जुन उनीहरुको कर्तव्य हो । जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकभन्दा अगाडि यिनीहरुको बयान लिनुपर्छ ।

ओली र लेखकले गोली हान भनेर निर्देशन दिएका थिएनन् । स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि सुरक्षाकर्मीले आफ्नो आत्मसुरक्षा र सरकारी सम्पत्तिको रक्षाका लागि गोली हानेका थिए । आन्दोलनको नाममा देश जलिसक्दा बालेन भने निरन्तर सामाजिक सञ्जालमा स्ट्याट्स लेखेर भीडलाई झनै उक्साउने काम गरिरहेका थिए ।

यता, रवि नख्खु जेलबाट ननिस्किएको भए, यत्रा कैदीबन्दी भाग्दैनथें । भदौ २३ को घटना हुनेबित्तिकै लेखकले गृहमन्त्री पदबाट राजीनामा दिइसकेका थिए । ओलीले २४ गते दिँउसो १२ बजेअगावै पदबाट राजीनामा दिए । त्यसपछि देश सरकारविहिन भए । सहकारी ठगीको अभियोगमा नख्खु कारागारमा रहेका रवि त्यही मौका छोपेर जेलबाट भागे ।

उनी भाग्नेबित्तिकै अन्य कारागारमा तोडफोड र आगजनी शुरु भयो । अहिलेपनि झण्डै पाँच हजार कैदीबन्दी बाहिरै छन् । रोचक प्रसंंग के भने, रवि जेलमा हुञ्जेल सरकारी सम्पत्तिमा आगो लागेको थिएन । उनी निस्किनेबित्तिकै भएभरका अदालत, राष्ट्रपति कार्यालय, सिंहदरबार, प्रधानमन्त्री निवास, प्रहरी कार्यालयहरुमा आगजनी गरियो ।

यी घटनाले शंकाको सुईँ उनीतिर घुमेको छ । जति आगो लाग्यो, प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिइसकेपछि भएको हो । देश खरानी भइसकेपछि बालेनले स्ट्याट्स लेखेका थिए,‘हाम्रो लक्ष्य हासिल भयो । जेनजी साथीहरु घर फर्किनुस् । अब देश तपाईँहरुकै हातमा छ ।

नेपाली सेना पनि त्यतिबेला पनि बाहिर आएन । सिंहदरबारभित्रै सेनाको नरसिंहदल गण छ । तर, त्यही आगो लाग्यो । देशका ऐतिहासिक सम्पत्तिहरु जल्दा सेना रमिता हेरेर बस्यो । बालेनको साँझ ७ बजेको स्ट्याट्सपछि राति १० बजे सेना सडकमा आयो । यो घटना योजनाबद्ध रुपमा भएको थियो भनेर सहजै बुझिन्छ ।

सुधन गुरुङ्ग र मिराज ढुंगाना त्यतिबेलासम्म बाहिर आएका थिएनन् । जेनजीको कोही नेतृत्व नै थिएनन् । मिराज भागिहाले, सुधन पानी बाँडेर हिँडेका थिए । कसैले नेतृत्व नलिएपछि सुधनले मौकामा चौका हाने । म लिडर भनेर अगाडि आए । वर्तमान प्रधानमन्त्री सुशीला कार्की भदौ २४ गते सडकमा आइन् ।

राजनीतिक दलमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ, जेनजीको माग सम्बोधन गर्नुपर्छ भनेर उनले चर्को भाषण दिएकी थिइन् । सामान्य भाषामा भन्दा उनले पनि भीडलाई भडकाउने काम गरेकी थिइन् । उनीसँग पनि आयोगले बयान लिनुपर्छ । भीडलाई उक्साएर यत्रो क्षति गराएको आरोपमा कानुनको दायरामा ल्याउनुपर्छ ।

सुरक्षाकर्मीले देशको सुरक्षा गर्छु, शान्तिसुरक्षा कायम गर्छु, देशमा संकट आयो भने ज्यानको बाजी राखेर लड्छु भनेर जागिर खाएका हुन्छन् । कानुनमै लेखिएको छ,‘भीड नियन्त्रणभन्दा बाहिर गयो, आफैंमाथि असुरक्षा भयो, सरकारी सम्पत्ति वा व्यक्तिको सम्पत्तिमा तोडफोड भयो भने कसैको आदेशबिनै सुरक्षाकर्मीले घुँडामूनि गोली हान्न पाउँछ ।

जनताबाट चुनिएर गएका जनप्रतिनिधिले बनाएको कानुन हो यो । भीड यताबाट उता दौडिरहेको अवस्थामा गोली जहाँपनि लाग्न सक्छ । त्यसैले सुरक्षाकर्मीलाई दोष लगाउनु बेकार छ ? यदि, गोली नै चलाउन नपाउने हो भने सुरक्षाकर्मीलाई किन बन्दुक दिनुपर्यो ? सुरक्षाकर्मीले पहिले हात जोडेरै तोडफोड नगर्न आग्रह गरेका थिए ।

तर, नमानेपछि के गर्ने ? एकातिर मातृभूमिको रक्षा गर्छु भनेर जागिर खाएको छ, अर्कोतिर आफ्नै ज्यानमाथि खतरा परेको छ । अनि गोली चलाउनुबाहेकको विकल्प नै रहेन । प्रहरी र सशस्त्र अन्तिम घडीसम्म देशको लागि लडे । आफ्नो कर्तव्य निर्वाहको क्रममा तीन प्रहरीले वीरगति पाएका छन् ।

कतिले हातखुट्टा भाँचियो, कुटाइ खाएर पनि उनीहरु सडकमा भीडसँग भिडिरहेँ । न्यून स्रोतसाधनका बाबजूद प्रहरी र सशस्त्रले लड्यो, तर सेना हेरेर बस्यो । ‘दुलोभित्र मुसा लुकेझैं’ सेना जंगीअड्डामा लुकेर बस्यो । २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भयो । राजा वीरेन्द्रको वंश नास भयो ।

दरबारको सुरक्षा गर्ने जिम्मा सेनाले लिएको थियो । तर, सेना चुक्यो । माओवादी जनयुद्धका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संकटकाल घोषणा गरेर सेना परिचालन गरेका थिए । माओवादी नेताको टाउकोको मूल्य ५० लाख तोकिएको थियो । माओवादीसँग त्यतिबेला पनि सेना पराजित भयो ।

जसका कारण देशबाट राजतन्त्र अन्त्य भयो । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह दरबार छोडेर नागार्जुन गए । जेनजी आन्दोलनमा सबैले सेनाको भूमिका देखिहाल्यौं । सेना देश जोगाउने कार्यमा पटकपटक चुकेको छ । २०७९ वैशाख ३० स्थानीय तहको निर्वाचन भयो । ६१ ह्जार सात सयभन्दा बढी मत ल्याएर बालेनले चुनाव जिते ।

बालेन शपथ खानेबित्तिकै जंगीअड्डा पुगेका थिए । जबकि, उनी त पदभार ग्रहण गर्न महानगरपालिकाको कार्यालय जानुपर्थ्यो । त्यतिबेलै जनताले बालेन र सेनाको सम्बन्धमाथि शंका गरिसकेका थिए । २०८० भदौ १६ गते सार्वजनिक बिदाका दिन उनकी श्रीमती सरकारी गाडीमा निस्किएकी थिइन् ।

ट्राफिक प्रहरीले उनलाई रोक्यो । आफ्नी श्रीमतीलाई रोक्दा उनले सिंहदरबार जलाइदिन्छु भनेर चेतावनी दिएका थिए । र, आज साँच्नै नै सिंहदरबार खरानी बनेको छ । बालेनले उक्साएको भीडले नै सिंहदरबारमा आगो झोसेको हो । सरकारले मेयरको हैसियतले बालेनलाई गाडी दिएको थियो ।

तर, उनकी श्रीमती त्यो गाडीमा सार्वजनिक बिदाको दिन भेटिइन् । कानुन तोडेका उनले माफी माग्नुको साटो राष्ट्रविरोधी चेतावनी दिए । सरकारले त्यतिबेलै उनलाई कानुनको दायरामा नल्याउँदा आज यत्रो घटना भयो । रविमाथि पाँच वटा सहकारी ठगीको आरोप छ । आफूले गल्ती गरेको स्वीकार्दै बैंक जमानत राखेर जेलबाट निस्किएका रवि र बालेनले देशलाई खरानी बनाए ।

अब यी दुईलाई कानुनको दायरामा ल्याउनुपर्छ । जाँचबुझ आयोगले यिनीहरुसँग तत्काल बयान लिनुपर्छ । यिनीहरुले आफ्नो फाइदाका लागि फेरि देश खरानी बनाउन सक्छन् । त्यसैले जनता सचेत होऔं ।