सरकार र जनता दुवै ठग,त्यसैले देशको भयो यस्तो हविगत ?
अनुसा थापा
नेपाली नागरिक घुम्नका लागि छिमेकीसहित विभिन्न मुलुक जान्छन् । घुमेर आएका व्यक्तिहरु भन्छन्,‘त्यहाँ खाना पनि सस्तो, लुगा पनि सस्तो। त्यही सामान यहाँ दशौं गुणा बढी मूल्य पर्छ । यसको कारण हो–आफ्नै उत्पादन । सबै सामान उनीहरुले स्थानीय स्तरमै उत्पादन गर्छन्।
आफ्नै देशमा उत्पादन भएको सामानको प्रयोग गर्छन् । विदेशी मुलुकमा निर्यात गरेर आफ्नो अर्थतन्त्रलाई बलियो बनाइरहेका छन् । तर, हामीकहाँ ठ्याक्कै उल्टो छ । हामीकहाँ त न उब्जनी हुने जमिन बाँकी छ न उद्योग कलकारखाना नै । अन्य मुलुक विकास हुनुको कारण त्यहाँको नीतिनियम र दीर्घ सोचाई हो ।
त्यहाँको सरकारले जमिनको पुरै स्वामित्व व्यक्तिलाई दिँदैन । सरकारको नाममा जमिन हुन्छ । खेतीयोग्य, आवासीय, औद्योगिक क्षेत्र भनेर वर्गीकरण गरिएको छ । खेतीयोग्य जमिनमा घर बनाउन दिइँदैन । आफ्नै उत्पादनमा उनीहरु आत्मनिर्भर छन् । तर, यहाँ त जग्गाको पुरै अधिकार व्यक्तिलाई दिइएको छ ।
जनताको नाममा जग्गा छ । जोपनि घर मात्र बनाउने । खेतीयोग्य जमिन माँसिँदै गएको छ । यहाँ त पैसा कमाउनेबित्तिकै घर र जग्गामा लगानी गर्ने, भाडामा लगाएर बसिबसि खाने । उद्योग खोल्नमा कसैलाई ध्यान नै छैन । सरकारले राणाकालमा स्थापना भएका उद्योग बेचेर खाइहाल्यो।
जनतालाई उद्योगमा लगानी गर्न ध्यान छैन । अनि देश कसरी आत्मनिर्भर बन्छ ? नेपाली विलासी जीवन जिऊन चाहन्छन् । उनीहरुलाई गाडी चढ्नु छ । सुन लगाएर हिँड्नु छ । तर, नेपालमा गाडी बन्दैन । विदेशबाट आयात गरिगरि गाडी चढिरहेको अवस्था छ । छिमेकी भारतसहित अन्य मुलुकले भवन नै पिच्छे गाडी बनाउने कारखाना खोलेका छन् ।
उनीहरु गाडी बनाउँछन्, अटोशोरुमले यहाँ ल्याएर बेच्छन् । ती मुलुकलाई धनी बनाउँछन् । यहीँ गाडी उद्योग खोल्दा जनताले रोजगारी पाउँथे, सँगै नेपाली पैसा पनि विदेशी जाँदैनथ्यो । तर, त्यसमा कसले चासो पुर्याउने ? सरकारलाई मतलब छैन, जनता लगानी गर्न घरजग्गा, गाडी र सेयरबाहेक अरु केही नै देख्दैनन् ।
नेपालीहरु सुनमा एकदमै सौखिन छन् । तर, सुन पनि यहाँ पाइँदैन । अन्यत्रैबाट आयात गर्ने हो । उताबाट ल्याएर यहाँ बनाउने गरिन्छ । तोलाकै लाखौं हालेको सुन भिरेर नेपाली हिँडछन् । तर, त्यही रकम उत्पादनमुलुक क्षेत्रमा लगानी गर्न सकेको भए, देशलाई कति फाइदाजनक हुन्थ्यो ।
धेरैले यहीँ रोजगारी पाउँथे । राज्यलाई राजश्व आउँथ्यो । विदेशी सामान किन्दा विदेश जाने नेपाली पैसा यहीँ रहन्थ्यो । तर, सरकारले जनतालाई कहिल्यै उत्पादन, कलकारखाना खोल भनेर प्रोत्साहन गरेन । यहाँ त राज्य पनि बिचौलिया, जनता पनि बिचौलिया । यहाँ सबैले ठग्न मात्र जाने ।
एक हजार आनामा बिक्री नहुने जग्गा कित्ताकाट गरेर आनाकै ६० देखि ७० लाख रुपैयाँमा बेचिन्छ । बैंक तथा वित्तिय संस्था र कम्पनीहरुले एक सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर ३२ सय रुपैयाँ पुर्याइयो । कुनै समय ८० रुपैयाँ तोलामा आउने सुन दुई लाख ६८ हजार दुई सय रुपैयाँ पुगेको छ ।
एक सय रुपैयाँमा नजाने कोठालाई दशौं हजारमा भाडामा लगाइन्छ । सटर त लाखौंमा खरिदबिक्री हुन्छ । यहाँ त जसले जसलाई सक्छ, ठग्छ। सरकारले जग्गाको स्वामित्व जनतालाई दिँदा आज सरकारी, सार्वजनिक, गुठी, ऐलानी, हदबन्दीभन्दा बढीको जग्गा सखाप भएको छ ।
जग्गाको भाउ मँहगो हुँदा बाठाटाठाले धमाधम सरकारी सम्पत्ति दर्ता गरेर व्यक्तिको नाममा लगे । त्यही जग्गा बेचेर आज केही भूमाफिया, कर्मचारी र कानुन व्यवसायीहरु मालामाल भएका छन् । अन्य देशमा जनताले आफ्नो जग्गा त सरकारको स्वामित्वमा राखेका छन् भने हामीकहाँ त सरकारी सम्पत्ति पनि खोजीखोजी स्वाहा पारिन्छ ।
सरकारमा बसेका राजनीतिक दलहरुले भोट बटुल्नका लागि सरकारी सम्पत्ति बाँडे । अभिभावक नै चोर भएपछि सन्तान सध्ये हुन्छन् ? सरकार दलाल बन्दा जनता पनि त्यहीँ बाटो हिँडे । बाबुआमाले ठगेर कमाए, तिनका सन्तानले त्यसमै मोजमस्ती गरे । कमाएर खान जानेनन्न ।
अनि यस्तो पाराले देश बन्छ ? देश बनाउनका लागि त जनता पहिले सुध्रिनुपर्छ । जबसम्म जनता सुध्रिँदैनन, तबसम्म कुनै हालतमा देश बन्दैन । पछिल्लो समय मान्छेमा नैतिकता, धर्मकर्म मर्दै गएको छ । पहिलेपहिलेका मान्छेहरु भन्थे,‘मैले अरुलाई दुःख दिए भने मेरो सात पुस्ताले त्यसको असर खेप्नुपर्छ ।
तर, अहिले त जोपनि ठग्ने । अरुलाई लुट्ने आफू मोटाउने । अरु देशबाट सय रुपैयाँमा ल्याएको सामान व्यापारीले हजारौंमा बेचिरहेका छन् । उद्योग व्यवसायीहरु अरु देशमा उब्जनी र उत्पादन भएको सामान ल्याएर प्याकिङ्ग गर्दै मनलाग्दी मूल्यमा बेच्छन् । अनि आफूलाई उद्योग व्यवसायी भन्दै हिँड्छन् ।
के को उद्योग व्यवसायी ? अर्काको देशको सामान बेचेर उद्योग व्यवसायी होइन्छ ? बैंक तथा वित्तिय संस्था जनतालाई सुकुम्बासी बनाएर मोटाइरहेका छन् । १८ प्रतिशत ब्याज भनेर बैंकहरुले ऋणीबाट ८० प्रतिशत असुलिरहेका छन् । तीन करोडको धितो ९० लाखमै पचाइदिन्छन्, बैंकका म्यानेजर र कर्मचारी ।
तर, तिनलाई कसले ठग भन्ने ? सुटपाइन्ट लगाएर एसी मूनि बसेका उनीहरुले ठग्दा पनि न जनताले विरोध गर्न सक्छन् न सरकारले कारबाही गर्न । काठमाडौं उपत्यकामै मीटरब्याजको जन्जाल छ । उपत्यकाभित्रै एक लाखको मासिक ३० हजार रुपैयाँ ब्याज लिइँदै आइएको छ ।
यहाँ त जसले ठग्छ, उसैको वाहवाही छ । उसकै अगाडि सारा राज्य संयन्त्र झुकेको छ । सुट पाइन्ट लगाउने, हातमा दुईटा मोबाइल बोक्ने, मँहगो गाडी चढ्नेलाई मात्र यहाँ मान्छे गनिन्छ । तर, उनीहरुले कहाँबाट सम्पत्ति जोडे ? कसरी जोडे ? खोजिँदैन । अहिले नेताजसरी हिँडिरहेका रवि लामिछाने सहकारी ठगीको अभियुक्त हुन् ।
उनीमाथि हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ ठगेको आरोप छ । उनले विभिन्न अदालतमा करोडौं रुपैयाँ धरौटी राखे । यता, उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा करोडौं रुपैयाँ बैंक जमानत राखेर उनी निस्किएका छन् । धरौटी राख्ने पैसा कहाँबाट आयो ? कसले खोज्ने ?
यहाँ त राज्यले नै ठग्न सिकाइरहेको छ । कीर्ते मूल्य कायम गर्ने, सिण्डिकेट लगाउने, जनता ठग्नेलाई राज्यले नै संरक्षण गरिरहेको छ । उनीहरुले लुट्छन्, प्रहरीले समात्छ । अदालतले धरौटीमा छोडिदिन्छ, उनीहरुले बाहिर आएर त्यही ठग्ने पेशा चलाउँछन् । सहकारीमा बचत गर्नेहरु औषधी किन्ने पैसा नभएर मरिरहेका छन्, रविजस्ता व्यक्तिहरु करोडौं धरौटी राखेर निस्किरहेका छन् ।
राज्यले जनतालाई गलत पाठ पढाउँदा आज देशको हविगत यो बनेको हो । जनता सचेत नहुँदासम्म देश उमो लाग्दैन । जनताको बलिदानलाई हाइज्याक गरेर धेरै व्यक्तिहरु नेता बने । अहिले बालेन साह र रविले त्यही गर्न खोज्दैछन् । तिनले जनतालाई फेरि उल्लु बनाउन खोजिरहेक छन् । त्यसैले जनता सचेत हुन आवश्यक छ ।
देश बनाउने हो भने विद्यार्थीलाई सानैदेखि नैतिक शिक्षा दिऔं । विद्यार्थीलाई किताब घोकाउने मात्र होइन, सही बाटो देखाउने काम गरौं । आजको कोपिलाहरुलाई सही बाटो देखाइयो भने भोलि देश फक्रिनेछ ।
