रवि–बालेन र कुलमानको एकता भाडिदै,संवादविहीको बाटोमा ?

काठमाडौं। बालेन साह र रवि लामिछानेको अगुवाइमा नयाँ राजनीतिक दल र समूहबिचको एकता प्रयास शुक्रबार साँझसम्म सकारात्मक भनिएको थियो। दुवै समूहबाट संवादमा रहेका नेताहरूले सम्भव भए शुक्रबारै, नभए शनिवारसम्म सहमति जुटाएर एकताको घोषणा गर्ने दाबी गरेका थिए।

तर, शुक्रबार अन्तिम समयमा एकताको सहमति गर्ने प्रयास रोकिएको थियो। शनिवार फेरि बस्ने गरी टुंगिएको बैठक अहिले साँझ पर्दासम्म पनि अघि बढेको छैन।

आज बिहानैदेखि बसेर सहमति टुंग्याउने कुराकानी भएर हिजोको संवाद टुंगिएको थियो,रास्वपाबाट वार्तामा सहभागी एक नेता भन्छन्,हामी घरबाट बिहानै निस्किएका हौँ। तर, अहिलेसम्म बालेन जीको तर्फबाट कोही पनि सम्पर्कमा आएका छैनन्। हामी सम्पर्कको पर्खाइमा छौँ।

 कहाँ अड्कियो कुरा 

शुक्रबारसम्म संवादमा रहेका एक नेताका अनुसार एकतापछि बन्ने पार्टीको नाम रास्वपा र चुनाव चिन्ह ‘घण्टी’ नै रहनेमा दुवै पक्ष सहमत छन्। पार्टी सभापतिमा रवि लामिछाने नै रहनेमा बालेन सहमत र आगामी निर्वाचनपछिको प्रधानमन्त्री बालेनलाई दिनेमा रवि सहमत भइसकेका छन्।

दुई पक्षबिच यी कुरामा सहमति नै भइसकेको हो। कुरा अड्किएको शक्ति समीकरण र कुलमान जीको व्यवस्थापनमा मात्रै हो,’ रास्वपा स्रोतले भन्यो।

रास्वपा नेताका अनुसार बालेन पक्षले पार्टी र चुनावी टिकटमा ५०–५० प्रतिशत हिस्सेदारी मागेको छ। त्यसमा थप छलफल गर्दै जाँदा मिल्छ भन्ने हाम्रो प्रस्ताव हो, ती नेताले भने,त्यसो भन्दा पनि यति–उति भागबन्डा भन्दा पनि वैकल्पिक शक्ति मिल्ने कुरामा यसको–उसको मान्छे नभनौँ, सबै सबैका मान्छे हुन् भन्ने हामीले भनिरहेको कुरा हो।’

रास्वपा पक्षले शुक्रबार नै यी कुरामा संवाद गर्दै, साँझ नै रवि र बालेनलाई सँगै राखेर ‘डिनर मिटिङ’सहित सहमति पत्रमा हस्ताक्षर गर्न चाहेको थियो। तर, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको कुरा आएपछि अड्किएको ती नेताले बताए।

‘अहिले हामी दुई पक्षको कुरा थियो। संवाद भइसकेपछि हामी सहमति गरौँ, कुलमान जीलाई मिलाउँदै लैजाउँला भन्ने थियो,रास्वपाबाट संवादमा सहभागी ती नेताले भने,तर उहाँहरू संवादमा हुनुहुँदो रहेछ। बैठकमै हुँदा पनि उता (कुलमान पक्ष)बाट फोन आइरहेको थियो। साँझ बालेन पक्षका नेताहरू कुलमानलाई मिलाएर आउने भन्दै छुट्टिएको ती रास्वपा नेताले बताए।

बालेन र कुलमान पक्षबिच संवाद भइरहे पनि कुलमान पक्ष रास्वपासँग संवादमा भने नरहेको ती नेताले जानकारी दिए।

ती नेताका अनुसार रास्वपाबाट शनिवार दिनभर संवादको सिलसिला जारी राख्ने प्रयास भइरहेको थियो। करिब साढे ४ बज्दा पनि संवाद सुरु भइसकेको थिएन।

‘उहाँहरू(बालेन पक्ष) कुलमान जीहरूसँग संवादमा हुनुहुन्छ भन्ने सुनिएको छ। एक छिन पछि–एक छिन पछि भन्दै दिन बितिसक्यो। ढिलै भए पनि कुराकानी होला भन्ने अपेक्षा गरेका छौँ,’ रास्वपा नेताले भने।

रास्वपाका ती नेताको आशयअनुसार बालेनसँग शक्ति साझेदारीमा गर्नेमा रास्वपा तयार देखिए पनि कुलमान पक्षसँग भने तयार देखिँदैन। ‘सबै शक्ति एक हुनुपर्छ भन्नेमा हामी सहमत नै हो। तर,सबैले अहिल्यै सबै थोक खोज्नथाले भावना जोड्न गाह्रो छ,ती नेताले भने,हामी देशभर संगठन बनाइसकेको, एक अर्थमा स्थापित शक्ति हो। त्यो कुरा उहाँहरूले बुझिदिनुपर्छ।’ ढिलै भए पनि सबैजनाले जनताको भावना बुझेर संवाद र एकतामा आउने उनले विश्वास व्यक्त गरे।