उज्यालो नेपालले अस्वीकार गर्यो रास्वपाको प्रस्ताव

काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्ताव गरेको एकताको मोडालिटी अस्वीकार गरेको छ।

शनिवार बसेको केन्द्रीय समितिको बैठकले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार हुने गरी अगाडी सारेको प्रस्ताव अस्वीकार गरेको हो।

बैठकमा पार्टीका संरक्षक रहेका कुलमान घिसिङले शनिबारनै बालेन शाहसँग भएको छलफल बारे ब्रिफिङ गरेका थिए। बैठकमा सहभागी केन्द्रीय सदस्यका अनुसार कुलमानले रास्वपाले बालेनलगायत आफूहरूलाई प्रयोग गर्न खोजेको आशय व्यक्त गरेका थिए। उज्यालो पार्टीले रास्वपाकै नाम र चुनाव चिन्ह राखेर एकता गर्न नसकिने अडान राखेको बताइएको छ।

त्यस्तै बालेन र रास्वपाबीच हुने भनिएको आजको निर्णायक वार्ता समेत अहिलेसम्म हुन नसकेको बुझिएको छ । कार्यदलस्तरमा सहमति नभएकाले बालेन र रविबीचको भेट निश्चित नभएको बताइएको छ।