मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु, दुई घाइते
काठमाडौं। कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।
शनिबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४५ वर्षीय धनबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।
खाँदबारी–तुम्लिङटार सडकमा सभाखोलाबाट तुम्लिङटारतर्फ छुटेको को १८प ७१७६ नम्बरको मोटरसाइकल र तुम्लिङटारबाट सभाखोलातर्फ गइरहेको प्रदेश १–०२–०४३प २२७७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते को १८प ७१७६ नम्बर मोटरसाइकलमा पछाडि सवार सुनारको उपचारका क्रममा मनकामना सामुदायिक असस्पतालमा मृत्यु भएको हो।
खाँदबारी–९ का मोटरसाइकल चालक ४८ वर्षीय चक्रबहादुर सुनार र धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ का ५५ वर्षीय यज्ञबहादुर श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ। घाइतेको मनकामना सामुदायिक अस्पताल तुुम्लिङटारमै उपचार भइरहेको छ।

