यथास्थितिको चुनाव वा संसद् पुनर्स्थापनाले निकास दिदैन,सर्वपक्षीय राष्ट्रिय संयुक्त सरकार गठन गर्नुपर्छ: संयोजक गजुरेल

काठमाडौं । कम्युनिस्ट समाजवादी पार्टीले यथास्थितिमा गरिने संसदीय चुनाव वा संसद् पुनर्स्थापनाबाट मुलुकले निकास नपाउने निष्कर्ष निकालेको छ। पार्टीको आयोजनामा सम्पन्न पत्रकार सम्मेलन मार्फत वर्तमान राजनीतिक संरचना र अभ्यासले जनआकांक्षा सम्बोधन गर्न नसकेको ठहर गर्दै सर्वपक्षीय राष्ट्रिय संयुक्त सरकार निर्माणका लागि सशक्त पहल गर्न आह्वान गरिएको छ।

कार्यक्रममा बोल्दै कम्युनिस्ट समाजवादी पार्टीका संयोजक हरिकृष्ण गजुरेलले मुलुक गम्भीर राजनीतिक,आर्थिक र सामाजिक संकटमा फसेको अवस्थामा पुरानै ढाँचाको चुनाव वा संसद् पुनर्स्थापनाले समस्या समाधान गर्न नसक्ने बताए। उनका अनुसार सत्ता केन्द्रित दलगत स्वार्थ, अस्थिर सरकार र जवाफदेही कार्यकारी अभावका कारण जनतामा निराशा बढ्दै गएको दाबी गरे।

गजुरेलले निकासका लागि सबै राजनीतिक शक्ति, नागरिक समाज र सरोकारवालाहरू सहभागी हुने सर्वपक्षीय राष्ट्रिय संयुक्त सरकार गठन गर्नुपर्नेमा जोड दिए। सो संयुक्त सरकारले उच्चस्तरीय संविधान पुनर्लेखनको प्रक्रिया अघि बढाउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) प्रणाली लागू गरेपछि मात्र निष्पक्ष र अर्थपूर्ण चुनावमा जानुपर्ने उनको प्रस्ताव छ।

उनले विगत दशकौँदेखि दोहोरिँदै आएको चुनाव–केन्द्रित राजनीति असफल भइसकेको दाबी गर्दै भने, जनताले सुशासन, स्थायित्व, समृद्धि र अधिकार खोजिरहेका छन्। तर यथास्थितिको व्यवस्थाले ती अपेक्षा पूरा गर्न सक्दैन। प्रणाली सुधार नगरी चुनावमा जानु संकटलाई निरन्तरता दिनु मात्र हो।

 वर्तमान संविधान र शासन प्रणालीले शक्ति सन्तुलन कायम गर्न नसकेको,कार्यकारी निर्णय क्षमतामा कमजोरी देखिएको र राज्य संरचनामा सुधार अपरिहार्य भएको गजुरेलले बताए। उनीहरूले संविधान पुनर्लेखनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्दा राजनीतिक स्थायित्व, स्पष्ट नेतृत्व र जनउत्तरदायी शासन सम्भव हुने विश्वास व्यक्त गरे।

कम्युनिस्ट समाजवादी पार्टीले राष्ट्रिय सहमतिका आधारमा तत्काल राजनीतिक निकास खोज्न सबै दल र शक्तिहरूलाई गम्भीर हुन आग्रह गर्दै जनताको पक्षमा निर्णायक पहल नगरे मुलुक झनै संकटतर्फ धकेलिने संयाेजक गजुरेलले चेतावनीसमेत दिए।