चुनाव आउन अझै दुई महिना बाँकी,जनताले मतदान नगर्दै रविद्धारा बालेनलाई अहिले नै प्रधानमन्त्री
अनुसा थापा
२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भयो । मुलुककै सबैभन्दा ठूलो स्थानीय पालिका काठमाडौं महानगरपालिकामा रोचक चुनावी प्रतिस्पर्धा भएको थियो । दलहरुले जित्दै आएकोमा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार बालेन साहले ६१ हजार सात सय भन्दा मत ल्याएर विजयी हासिल गरे।
स्वतन्त्रबाट त्यत्रो भोट ल्याएका तिनै बालेन अहिले सहकारी ठगीको अभियोग लागेका रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन् । हिजो बिहान दुई पक्षबीच सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । बालेनको त्यो कदमले उनैलाई चुनावमा क्षति पुग्ने देखिएको छ ।
किन कि, हिजो जनताले उनलाई स्वतन्त्र भएर भोट दिएका थिए । उनीहरुले लौरोमा भोट हालेका थिए । लौरोमा भोट हालेकाले घण्टीमा भोट हाल्नेवाला छैनन् । रास्वपा कलिलो पार्टी हो । टेलिभिजनमा हुँदा विभिन्न काण्ड लागेका रविले २०७९ असार ७ गते निर्वाचन आयोगमा पार्टी दर्ता गरेका हुन् ।
पार्टी सभापति लामिछाने २०५६ सालमै अमेरिका गएका थिए । उनले २०६६ सालमा नेपाली नागरिकता त्यागे । त्यहाँ चार वटा मुद्दा लागेपछि र घरव्यवहार बिग्रिएपछि उनी भिजिट भिसामा नेपाल आए । त्यसपछि उनी अमेरिका फर्किएनन् । घुम्नका लागि नेपाल आएका उनी कानुनको बर्खिलाप गरेर बसिरहें ।
उनले नेपाली नागरिकता लिएनन् । दुई वटा राहदानीमार्फत आउजाउ व्यवहार गरिरहें । न्यूज २४ मा प्रशारण हुने सिधा कुरा जनतासँग कार्यक्रम चलाउने उनले प्रेस कार्ड पनि लिएनन् । पत्रकार हुँदा उनीमाथि पैसाको धेरै नै बार्गेनिङ गरेको आरोप लागेको छ । उनकै सहकर्मी स्वर्गीय शालिकग्राम पुडासैनीले नै त्यो कुरा खोलेका छन् ।
आत्महत्या गर्नुअघि पुडासैनीले तयार पारेको भिडियोमा रविको कर्तुत स्पष्ट रुपमा खोलिएको छ । शालिकग्राम आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका उनी पहुँच र पैसाको आडमा जोगिएका थिए । नत्र उनी यतिबेला जेलको चिसो भुइँमा हुन्थें । रविविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
पाँच वटा जिल्लामा सहकारी ठगीको आरोपमा उनीमाथि मुद्दा चलिरहेको छ । जिल्ला अदालत, कास्कीमा त सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा पनि छ । काठमाडौं, कास्की, रुपन्देही अदालतबाट धरौटीमा छुटेका उनलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत पुस ३ गते करोडौं रुपैयाँ बैंक जमानत राखेर धरौटीमा छोडेको हो ।
आफूले सहकारी ठगी गरेको स्वीकार्दै उनले करोडौं बैंक जमानत बुझाएका हुन् । रुपन्देही अदालतमा एक करोड, काठमाडौं अदालतमा ६० लाख र कास्की अदालतमा ६५ लाख रुपैयाँ धरौटी राखेका उनले यत्रो पैसा कहाँबाट ल्याए ? यो पनि छानबिनको विषय नै हो । मुद्दा लागेर अमेरिकाबाट भागेका उनले पत्रकारिता पेशा गरेर यत्रो पैसा कमाए ?
न्यूज २४ छोडेपछि उनी जिबी राईको ग्यालेक्सी टेलिभिजनमा आए । सहकारीको पैसा गोर्खा टेलिभिजनमा ल्याएर हिनामिना गरेको आरोप उनीमाथि छ । टेलिभिजनमा हुँदा नेताहरुलाई मार गाली गर्ने उनलाई त्यसैले जनताले मनपराएका थिए । आफ्नो लोकप्रियता देखेर उनी राजनीतिमा आए ।
तबसम्म कसैलाई उनको नागरिकता, राहदानी र सहकारी ठगीको काण्ड थाहा थिएन । उनको पार्टीले २०७९ मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ सात सिट ल्यायो । यता, समानुपातिकतर्फ गरेर कूल २१ सिट रास्वपाले पायो । सरकारमा जाँदैनौं, विपक्षमा बसेर जनताको आवाज उठाउँछौं भन्ने रवि पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गए ।
उनी आफैं पुस ११ गते गृहमन्त्री भएका थिए । तर, ३२ दिनमै उनको पद खुस्कियो । पद जानुको कारण थियो–सर्वोच्च अदालतद्धारा गरिएको अनागरिक ठहर । सर्वोच्चले उनी नेपाली नागरिक नभएको ठहर गरेपछि मन्त्री, सांसददेखि पार्टी सभापतिसम्मको पद गएको थियो । त्यसपछि उनले सिडियो कार्यालय, काठमाडौंबाट नागरिकता लिए ।
उनको कारणले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गराउनु परेको थियो । २०८० वैशाख १० गते उपनिर्वाचन भएकोमा उनी नै निर्वाचित भए । उनकै कारणले त्यहाँ दुईपटक निर्वाचन गराउनुपर्यो । जनताले तिरेको कर त स्वाहा भयो नै । सँगै मतदाता आफैंले दुःख पाए ।
रोचक प्रसंग के भने, चितवनका जनताले फेरिपनि काण्डैकाण्डमा मुछिएको व्यक्तिलाई भोट हाले । चुनाव जितेपछि पनि उनी निरन्तर जेलमै छन् । उनलाई भोट दिनु मात्र भयो । उनीमाथि समानुपातिक सांसद बनाउन करोडौं रकम मागेको आरोप पनि लागेको थियो । उनकै पार्टीका ढाकाकुमार श्रेष्ठले उनलाई बुझाउनुपर्छ भन्दै एक मेडिकल व्यवसायीसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो ।
रविले आफूलाई जोगाउनका लागि उनलाई कारबाही गरे । रवि नेपाल फर्किनु नै देशका लागि दुर्भाग्य भयो । उनी आएपछि पाँच वटा सहकारी डुब्यो । सहकारीमा रकम फस्नुको पीडा तिनै बचतकर्तालाई थाहा छ । यता, दुईपटक चुनाव गराउनुपर्दा अर्थतन्त्र ध्वस्त भयो । उनले पटकपटक कानुनलाई धोती लगाइदिने काम गरे ।
एक जनाले उनीमाथि आरोप लगाउँदै आत्महत्या गरे । अनि यस्तालाई जनताले अब पत्याउँछन् ? जनताले फेरि भोट दिन्छन् ? उनलाई भोट दिनु भनेको आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु हो । उनी एउटा अदालतबाट बैंक जमानतमा छुटेपनि अन्य अदालतमा मुद्दा चलिरहेकै छ ।
अन्य अदालतले उनलाई कतिबेला जेल पठाउँछ ? भन्ने नै टुंगो छैन । अनि बालेन त्यस्तोको पार्टीमा दोस्रो वरियताको नेता बन्न पुगेका छन् । बालेनलाई रास्वपामा दोस्रो वरियताको आवश्यकता थियो र ? उनी आफैं लौरो चुनाव चिन्ह लिएर गएको भए, सायद जनताले पत्याउँथे होला ।
तर, रवि र उनको पार्टीलाई जनताले पत्याउँदैनन् । उनी जस्ता छन्, उनका पार्टीका नेता पनि त्यस्तै छन् । पार्टीका उपसभापति डिपी अर्यालमाथि मानव तस्करीको आरोप लाग्यो । अन्य नेता पनि विवादित छविका छन् । जेनजीको प्रदर्शन हिंसात्मक र ध्वशांत्मक बन्नुमा सबैभन्दा ठूलो हात रविको छ ।
त्यसपछि बालेनको हात छ । नख्खु कारागारमा रहेका रविले भदौ २३ र २४ को जेनजी प्रदर्शनलाई समर्थन गरेका थिए । बालेनले त आफू आउन नसकेपनि साथ रहेको भनि सार्वजनिक रुपमै सामाजिक सञ्जालमा पोष्ट्याएका थिए । रवि जेलबाट निस्किनेबित्तिकै झण्डै साढे १४ हजार कैदीबन्दी फरार भए ।
तिनै कैदीबन्दीले कारागार, प्रहरी चौकी र अदालत जलाए । जुनजुन अदालतमा रविको मुद्दा थियो, त्यही अदालतमाथि अट्याक गरिएको छ । फागुन २१ को चुनावमा पहिलो पार्टी काँग्रेस नै हुन्छ । बालेन प्रधानमन्त्री हुन्छु भन्नु ‘सम्झिने पानी छम्किने’ मात्र हो । चुनावपछि बन्ने सरकारले रवि र बालेनलाई जेल कोच्छ ।
रवि र बालेन जाने अन्ततः जेल नै हो भन्ने कुरा सबैले बुझिसकेका छन् । यी दुईले उचाल्दा सरकारी सम्पत्तिमा ८४ अर्बको क्षति पुगेको छ । व्यक्तिको सम्पत्तिमा पनि सोहीबराबरको क्षति पुगेको छ । झण्डै ८० जनाको ज्यान गएको छ । सुशीला कार्की नेतृत्वको सरकारले छोडेपनि अब बन्ने सरकारले छोड्नेवाला छैन ।
भनिन्छ नि,‘मनको लड्डु घिऊसँग खानु ।’ रवि र बालेनको हविगत यही नै हुनेवाला हो । तोडफोड र आगजनीमा संलग्नहरु पनि जेलमा जाँकिन्छन् । प्रधानमन्त्री बन्नलाई जनताले पत्याउनुपर्छ, सहकारी ठगले बनाउन सक्दैन होला । प्रधानमन्त्रीको उधारो सहमति कागजमै सीमित हुने देखिएको छ ।
