गरिबीले रोक्न सकेन डाक्टर बन्ने सत्यनारायणको सपना

सिरहा ।दिनभर इँटा-बालुवासँगको सङ्घर्ष, रातभर डाक्टर बन्ने सङ्कल्प। यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्, अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन।

सत्यनारायणको यो सफलताले त्यो भनाइलाई व्यवहारमै चरितार्थ गरिदिएको छ। कठोर गरिबी र अभावको चट्टानलाई छिचोल्दै उनले झुपडीबाट देखेको सपना साकार हुने चरणमा पुगेको छ, यसले अभाव देखाएर भाग्ने देशभरका युवालाई पनि ‘अठोटका अगाडि बाध्यता हार्छन्’ भन्ने सन्देश प्रवाह गरेको छ।

हुलाकी लोकमार्गको बरियारपट्टि चोकबाट तीन किलोमिटरभित्र पर्छ श्रीपुर गाउँ। यो गाउँका ससाना छाप्राहरूको लहर छिचोलेपछि एउटा यस्तो झुप्रो भेटिन्छ, जुन गरिबीले ढल्नै लागेको छ, तर घरभित्र उम्रेको आशाले त्यसलाई टेको दिइरहेको आभाष हुन्छ। यहीभित्र अभाव र अँध्यारोसँग जुध्दै सत्यनारायणले एउटा चम्किलो सपना सजाए ‘डाक्टर’ बन्ने सपना। आज त्यही झुप्रोबाट पलाएको सपनाले पूर्णता पाउने बाटो तय गरेको छ।

यो सफलता त्यत्तिकै मिलेको होइन, सत्यनारायणले सुनाएअनुसार आमा सुनितालाई वर्षौँदेखि टाउको दुख्ने समस्या थियो। बुबा कतारमा पसिना बगाइरहेका वेला, आमालाई अस्पताल लैजाने जिम्मेवारी कलिलो उमेरमै सत्यनारायणको काँधमा आयो। उनी आमाको हात समाउँदै अस्पतालका गल्ली–गल्ली चहार्थे। डाक्टरले औषधि लेखिदिन्थे, औषधि खाँदा केही दिन निको हुन्थ्यो, तर फेरि उही पीडा दोहोरिन्थ्यो। अस्पतालका ती लामा लाइन, बिरामीहरूको चित्कार र आमाको अनुहारमा देखिएको असह्य पीडाले उनको बालमस्तिष्कमा गहिरो चोट पुर्‍यायो।

ती दिनहरू सम्झँदै सत्यनारायण भन्छन्, औषधि खाँदा केही दिन निको हुने, फेरि उही पीडा दोहोरिने। आमाको त्यो पीडाले मेरो बाल्यकालको सोच नै बदलिदियो। अस्पतालमै उभिएर मैले कसम खाएँ, म डाक्टर बन्छु।

यही अठोटले हो, उहाँको सपना बदलिदिएको, त्यही सपनाले आज जीवनको दिशा नै बदलिदिने आधार तय गरिरहेको छ। सुरुमा उनलाई एमबीबीएसको प्रवेश परीक्षा कसरी दिने, कति खर्च लाग्छ वा कति पढ्नुपर्छ भन्ने केही ज्ञान थिएन। थियो त केवल एउटा दृढ सङ्कल्प।

सत्यनारायणले गाउँकै जनता माध्यमिक विद्यालयबाट २०७७ सालमा एसईई उत्तीर्ण गरे। पढाइमा तेज भएकै कारण उनले विराटनगरको अरनिको उच्च माविबाट विज्ञान विषय लिएर कक्षा १२ को पढाइ पूरा गरे। त्यसपछि उनको वास्तविक सङ्घर्षको अध्याय शुरु भएको हो।

‘सपना त देखियो, तर घरमा बसेर हुनेवाला थिएन। सपना पछ्याउन घर छोड्नुपर्ने भयो। एमबीबीएसको तयारीका लागि काठमाडौँ पुगेँ, तर आर्थिक अभावको पहाडले थिच्यो। तीन महिनामै काठमाडौँ छाडेर घर फर्किँए। उता बुबा पनि कतारको रोजगारी गुमाएर घर फर्किनुभयो। परिवारमा ‘भोक कि पढाइ’ भन्ने सङ्कट आइलाग्यो’, सत्यनारायणले सुनाए।

परिस्थितिसँग हार मान्ने उनको स्वभाव थिएन। काठमाडौँमा बसेर तयारी गर्ने सपना अधुरै छाड्नुपरेपछि गाउँ फर्किए। गाउँमै निर्माण मजदुरको काम रोज्नुभयो। दिनभर चर्को घाममा मिस्त्रीसँगै गाह्रो लगाउने, सिमेन्ट बोक्ने र निर्माणको काम गर्ने सत्यनारायणको दैनिकी बन्यो। शरीर थकित हुन्थ्यो, हात–खुट्टा गल्थे, तर रात पर्नासाथ उनको मन फेरि पढाइतर्फ फर्किन्थ्यो। बत्तीको मधुरो उज्यालोमा उहाँ चिकित्सा शिक्षाका पुस्तक पल्टाउँथे र प्रवेशपरीक्षाको तयारीमा डुब्थे।

‘मैले गरिबीले काठमाडौँ छोडेँ, तर सपना छोडेको होइन। मैले अभावले हण्डर खाएँ, तर हिम्मत हारेको थिइनँ। त्यसैले कुनै दिन अस्पतालको अगाडि उभिएर गरेको संकल्पले मलाई गन्तव्यमा अगाडि बढिरहन झक्झक्याइरह्यो। आखिर सबैको कुरा अठोट त रहेछ, नहार्ने अठोट’, मलिन मुद्रामा सत्यनारायणले विगत सम्झिए।

यही अठोटले उनको संघर्षले नयाँ गोरेटो तय गर्‍यो। मजदुरीबाट हातमा परेको सीमित ज्यालाबाट घरखर्च कटाएर बाँकी बचेको पैसाले उहाँ किताब किन्नुहुन्थ्यो। कतिपय रात त भोकभोकै पनि किताबका पाना पल्टाएर सपनाको खोजी गरे। सत्यनारायण भने, ‘मेरो कोठामा किताबकै सिरानी र किताबकै ओछ्यान हुन्थ्यो।’

त्यही किताबबीच बिताएका अनगिन्ती रातहरूले उनलाई मेडिकल कलेजको ढोकासम्म पुर्‍याएको हो।

काम सजिलो थिएन, तर सपना पनि त चानचुने थिएन। त्यसैले घरमै दुई वर्षको कठोर अध्ययन र मजदुरीपछि उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिए। नतिजा आउँदा सबै अचम्मित भए। सत्यनारायणले मधेसी दलित आरक्षण कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भए। उनको तपस्याले अन्ततः प्रतिफल दियो। यो खबर सुन्दा परिवारमा खुशीको सीमा छैन।

यद्यपि, छात्रवृत्तिले पढाइ शुल्क निःशुल्क भए पनि आवास र अन्य शैक्षिक सामग्रीको खर्च जुटाउने चिन्ता बाँकी नै थियो। बुबा मधुरी साफी भन्छन्, ‘छोराले आफ्नो मिहिनेतले डाक्टर पढ्ने बाटो त खोल्यो, तर अब यसलाई पूरा कसरी गराउने भन्ने चिन्ता छ। हामीसँग सम्पत्तिको नाममा केही धुर जग्गाबाहेक केही छैन।