पश्चिमी वायुको प्रभावस् हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, तराईमा हुस्सु–कुहिरो
काठमाडौं। देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थान तथा अन्य तराईका केही क्षेत्रमा बिहानको समयमा हुस्सु लागेको छ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारण बदली रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने महाशाखाको अनुमान छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरोले दृश्यता घट्न सक्नेछ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ। यी प्रदेशका उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना कायमै छ। तराईका अधिकांश स्थानमा राति र बिहान हुस्सु रहनेछ।
महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा सम्भावित वर्षा र हिमपात तथा तराईमा हुस्सु–कुहिरोका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

