विशेष महाधिवेशनकै पक्षमा उभियो उदयपुर कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस उदयपुर विशेषको पक्षमा उभिएको छ।

कांग्रेस उदयपुरले विज्ञप्ति जारी गर्दै जिल्लाका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागिताका लागि अनुरोध गरेको छ।

‘कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा उपस्थिति र सक्रिय सहभागिताको लागि उदयपुर जिल्लाका सम्पूर्ण महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू साथै सम्पूर्ण तहमा रहनुभएका नेपाली कांग्रेसका अग्रज, साथीहरू एवम् शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं,’ जारर विज्ञप्तिमा भनिएको छ।

जिल्ला सभापति हिमाल कार्कीले महाधिवेशन प्रतिनिधिले विधिवत ढंगले माग गरेको विशेष महाधिवेशनलाई औपचारिक रुपमा सम्बोधन गरी विधि र पद्दतिलाई कार्यान्वयनतर्फ उन्मुख गराएको भन्दै महामन्त्रीद्वयप्रति कृतज्ञता व्यक्त गरेका छन्।

विशेष महाधिवेशन पक्षधरले २७–२८ पुसमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेको छ। महाधिवेशनका लागि विशेष पक्षधरले भुकुटीमण्डप ‘बुकिङ’ पनि गरिसकेको छ।