भदौ २४ गतेको विध्वंसका पक्षधर र विरोधीबीच ध्रुवीकरण: ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले भदौ २४ गतेको विध्वंसका पक्षधर र विरोधीबीच ध्रुवीकरण भएको दावी गरेका छन्।
एमालेको शनिवार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको एकताप्रति लक्षित गर्दै यस्तो दावी गरेका हुन्।
धम्की, घृणा, निषेध र हिंसाका माध्यमबाट लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन नसकेपछि भदौ २४ को विध्वंसलाई वैधता दिने शक्तिहरू एकजुट भएको उनको आरोप छ। यो ध्रुवीकरण कुनै राजनीतिक विचारधारा वा दर्शनमा नभई भदौ २४ को विध्वंसलाई वैधता दिने कि नदिने भन्नेहरूको बीचमा भएको दाबी गरे।
लोकतन्त्र राजनीतिक दलहरूको भूमिकाबाट मात्रै बलियो हुने बताए। उनले विचारविहीन, सार्वजनिक जवाफदेहिताविहीन र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरू संगठित भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थामाथि चुनौती दिइरहेको आरोप लगाए।
विध्वंस र पपुलिजम कुनै पनि हालतमा अग्रगामी विकल्प हुन नसक्ने उनको दाबी छ। उनले पपुलिनमले मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणाली कमजोर बनाउने बताए। पपुलिजमले सत्तामा पुग्न जस्तोसुकै भावना बेच्ने हुँदा नेपालमा गम्भीर भूराजनीतिक जोखिम निम्त्याउने उनले चेतावनी दिए।
ओलीले भने,यतिबेला भदौ २४ को विध्वंसलाई वैधता दिने कि त्यसलाई अस्विकार्ने भन्ने विषयमा राजनीति ध्रुवीकृत हुन थालेको छ। लोकतान्त्रिक शक्तिहरूले पुनरागमन गर्ने देखेपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेको अवस्था छ।
उनले विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट तत्वबाट भ्रममुक्त हुनुपर्नेमा जोड दिए।
