महाधिवेशनको दौडपछि जेनजीसँग सहकार्य गर्ने गगनको प्रतिबद्धता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनको दौडादौड सकिएपछि जेनजी पुस्तासँग मिलेर काम गर्ने बताएका छन्। उनले आज एक भिडिओ सन्देशमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन्।

थापाले जेनजी मुभमेन्टले उठाएका राष्ट्रिय मुद्दा, विशेषगरी सुधार (रिफर्म) सम्बन्धी विषयहरूमा निर्वाचन अघि नै राष्ट्रियस्तरको संवाद र सहमति आवश्यक रहेको उल्लेख गरे। केही दिनअघि आफूले यिनै विषयमा एउटा विचार सार्वजनिक गरेको र त्यसमा धेरैले सुझाव दिएको उनले बताए।

उनका अनुसार जेनजी मुभमेन्टले अघि सारेका मुद्दामा राजनीतिक दल र अन्य सरोकारवालाबीच निर्वाचनभन्दा अघि नै राष्ट्रियस्तरको संवाद र सहमति हुनुपर्ने धारणा उनले अघि सारेका थिए। उनले भने, ‘त्यसपछि थुप्रैले मलाई आइडियाहरू दिनुभएको छ।

कतिपयले व्यक्तिगत रूपमा पनि सुझाव दिइरहेको उल्लेख गर्दै थापाले सहकार्य सुरु भइसकेको संकेत गरे। ‘हामीहरू मिलेर इलेक्सनभन्दा अगाडि नै जेनजी मुभमेन्टले उठाएका केही मुख्य मुद्दाहरूमा राष्ट्रियस्तरको एउटा सम्झौता गर्न सक्छौँ भन्ने विश्वास छ,’ उनले बताए।

महाधिवेशनपछि जेनजीसँग सहकार्य गर्दै सुधारका एजेन्डामा अघि बढ्ने उनको सन्देशलाई युवापुस्तामाझ सकारात्मक रूपमा हेरिएको छ।