कांग्रेसको विशेष महाधिवेशनमा देउवा निकटका ३० नेता सहभागी,अन्य को-को छन् त ?

काठमाडौं। विशेष महाधिवेशन पक्षधरले आह्वान गरेको विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ। भव्य समारोहका बिच महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले बिरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा कांग्रेसका अन्य शीर्ष नेताको उपस्थिति भने हुन सकेन। दुई महामन्त्रीबाहेक पदाधिकारीमा सहमहामन्त्री फरमुल्लाह मन्सुर मात्रै देखिएका छन्।

यस्तै मञ्चमा पूर्व उपसभापति गोपालमान श्रेष्ठ उपस्थित भएका छन्। उनी शनिवार मात्रै विशेष महाधिवेशनको पक्षमा खुलेका थिए।

अन्य नेतामा पूर्व महामन्त्री तानानाथ रानाभाट पनि सहभागी छन्। उनी भने पछिल्लो समय कांग्रेसमा खास्सै सक्रिय नभएका नेता हुन्। यस्तै पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी पनि मञ्चमा छन्।

अन्य नेताहरूमा डा। चन्द्र भण्डारी र सुनिल शर्मा पनि महाधिवेशनको उद्घाटन समारोहमा पुगेका छन्। नेता डा। शेखर कोइराला निकट मानिने दुवै नेता पार्टी मिलाउने भन्दै सक्रिय छन्। दुवै जनाले सम्बोधनका क्रममा सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्।

यस्तै विगतमा संस्थापन पक्षीय मानिएका पुष्पा भुसाल, विनोद चौधरी, उदय शमशेर राणा, डिला सङ्ग्रौला, राजन केसी, आङ्गेलु शेर्पालगायत २० जनाभन्दा बढी केन्द्रीय सदस्य विशेष महाधिवेशनका पक्षमा खुलेका छन्। उनीहरूसहित २७ जना केन्द्रीय सदस्य पार्टीभित्रको विवाद मिलाउने भन्दै सक्रिय थिए।