इतिहास: कांग्रेसको २०१४ सालको त्यो विशेष महाधिवेशन
अमृत बहादुर शाही
काठमाडौं। नेपाली कांग्रेसको इतिहासमा विशेष महाधिवेशन र नियमित महाधिवेशनका बहस नयाँ होइनन्। २००७ सालको क्रान्तिपछिको राजनीतिक उतारचढाव, पार्टीभित्रको नेतृत्व हस्तान्तरण र लोकतान्त्रिक अभ्यासका सन्दर्भमा कांग्रेसले समय–समयमा फरक निर्णय लिँदै आएको छ। तर इतिहासलाई आधार बनाएर आजको आवश्यकतालाई मूल्याङ्कन गर्दा पार्टीभित्र उठिरहेको नियमित महाधिवेशनको मागलाई हलुका रूपमा लिन नमिल्ने देखिन्छ।
इतिहास पल्टाउँदा, विशेष महाधिवेशन बोलाइनु सधैं असामान्य परिस्थिति र दूरदर्शी नेतृत्वको परिणाम थियो। सुवर्ण शमशेर र वीपी कोइरालाबीचको सम्बन्ध यसको ज्वलन्त उदाहरण हो। दुवै नेताबीच गहिरो आपसी सम्मान थियो। सुवर्ण शमशेरले आफूभन्दा वीपी कोइराला बढी क्यारिसम्याटिक र जननेतृत्व गर्न सक्षम रहेको अनुभूति गरेपछि नियमित अधिवेशन कुर्नु नपरी विशेष महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्न अग्रसरता देखाएका थिए। यो निर्णय केवल व्यक्तिगत त्याग मात्र होइन, पार्टी र मुलुकको भविष्यप्रतिको राजनीतिक परिपक्वताको प्रमाण पनि थियो।
त्यतिबेला राजा महेन्द्रले निर्वाचन गराउने कुनै स्पष्ट संकेत नदेखाएकाले मुलुकमा लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउने जिम्मेवारी कांग्रेसकै काँधमा थियो। संविधानसभा निर्वाचन गराउन राजालाई बाध्य पार्ने सङ्घर्षको कार्यक्रम सुरु गर्ने निर्णय कांग्रेसले गर्यो। विशेष महाधिवेशनबाट वीपी कोइरालालाई नेतृत्व हस्तान्तरण भएपछि सुरु भएको भद्र अवज्ञा आन्दोलनले अन्ततः विक्रम संवत् २०१५ सालमा आम निर्वाचन सम्भव बनायो। यस अर्थमा, विशेष महाधिवेशनले पार्टीभित्र सौहार्दता मात्र होइन, राष्ट्रिय राजनीतिमा निर्णायक मोड सिर्जना गरेको देखिन्छ।
तर आजको परिस्थिति त्यतिबेलाको जस्तै छ कि छैन भन्ने प्रश्न नै मूल विषय हो। कांग्रेसले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशन कसरी वैधानिक हुन्छ भन्ने बहस चर्किएको छ। पार्टी सभापति शेरबहादुर देउवाले एक वर्षअघि नै नेतृत्व हस्तान्तरण गर्ने, अब दोहोरिन नचाहने र अभिभावकको भूमिकामा सीमित रहने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। विधानअनुसार, उहाँको कार्यकाल जेठसम्म कायम रहँदा नियमित महाधिवेशन सम्पन्न गरेर मात्रै नयाँ नेतृत्व चयन गरी हस्तान्तरण गर्नुपर्ने दायित्व उहाँकै काँधमा आउँछ।
यही कारणले नियमित महाधिवेशन आजको कांग्रेसको आवश्यकता बनेको छ। नियमित अधिवेशन भनेको केवल नेतृत्व परिवर्तनको प्रक्रिया मात्र होइन, वडा तहदेखि केन्द्रसम्मका कार्यकर्ताले आफ्ना प्रतिनिधि र नेतृत्व छान्ने लोकतान्त्रिक अधिकारको अभ्यास हो। विशेष महाधिवेशनले सीमित नेतृत्व र शक्ति केन्द्रमा मात्र निर्णय सुम्पिने जोखिम रहन्छ, जबकि नियमित महाधिवेशनले संगठनभित्रको असन्तुष्टि, आकांक्षा र पुस्तान्तरणलाई संस्थागत ढंगले सम्बोधन गर्छ।
इतिहासले देखाउँछ—त्यतिबेला एउटै पुस्ताका दुई ठूला नेता थिए, र विशेष महाधिवेशनले पार्टीभित्रको सौहार्दता बढायो। तर आज कांग्रेस दुई पुस्तामा विभाजित छ। यस्तो अवस्थामा विशेष महाधिवेशनले समाधानभन्दा बढी कटुता र अविश्वास जन्माउने खतरा देखिन्छ। यही कारण आम कार्यकर्ताको भावना नियमित महाधिवेशनमै केन्द्रित हुँदै गएको छ।
पार्टी संगठन बलियो नभएसम्म देशको लोकतान्त्रिक प्रणाली पनि सुदृढ हुन सक्दैन। कांग्रेसजस्तो लोकतान्त्रिक आन्दोलनको जरा बोकेको पार्टीले आफ्नै विधान, प्रक्रिया र मूल्यको रक्षा गर्न सक्नुपर्छ। व्यक्ति होइन, पार्टीलाई केन्द्रमा राखेर सोच्ने र पार्टीभन्दा पनि ठूलो देशको हितलाई प्राथमिकता दिने परम्परा कांग्रेसको ऐतिहासिक पहिचान हो।
यस सन्दर्भमा, सभापति शेरबहादुर देउवाले विगतदेखि वर्तमानसम्मका सबै पुस्तालाई चिन्न र सुन्ने अवसर पाएका नेता भएकाले सधैं सही निर्णय लिने आम कार्यकर्ताकाे बुझाइ रहेकाे छ। इतिहासले दिएको शिक्षा र वर्तमानको यथार्थलाई जोडेर हेर्दा, कांग्रेसका लागि आजको सही बाटो नियमित महाधिवेशन नै हो भन्ने आवाज दिनप्रतिदिन बलियो बन्दै गएको देखिन्छ।
अमृत बहादुर शाही
अध्यक्ष
नेपाल विद्यार्थी संघ – त्रि-चन्द्र बहुमुखी क्याम्पस इकाई समिति।
