सामाजिक सञ्जालमा रास्वपा नेताहरूको जुहारी: प्रमोदलाई आसिफको काउन्टर- ‘ढुक्क हुनुहोस्, बन्ने यसरी नै हो’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक मतभेद सामाजिक सञ्जालमा पनि देखिन थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने निकट मानिएका नेताहरूबिच फेसबुक स्टाटसमार्फत जुहारी चलेको हो।
विवादको सुरुवात रास्वपा सभापति रवि लामिछाने निकट मानिएका प्रमोद न्यौपानेको एक स्टाटसबाट भयो। न्यौपानेले बिहीबार फेसबुकमा लेखेका थिए, ‘ढुक्क हुनुस्- यसरी चाहिँ बन्दै-बन्दैन !
न्यौपानेको यो स्टाटसपछि रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाह निकट मानिएका आसिफ शाहले त्यसको काउन्टर दिए। शाहले न्यौपानेलाई जवाफ फर्काउँदै लेखेका छन्, ‘ढुक्क हुनुहोस्, बन्ने यसरी नै हो’!
सामाजिक सञ्जालमा विवाद बढेपछि न्यौपानेले अर्को स्टाटस लेख्दै स्पष्टीकरण दिएका थिए। उनले आफ्नो भनाइ देश र सरकारविरुद्ध नभई पार्टीको आन्तरिक अधिवेशनका विषयमा भएको दाबी गरे।
न्यौपानेले स्पष्टीकरण दिँदै लेखेका छन्, ‘यतिबेला हामी देश र पार्टी (रास्वपा) दुवै बनाउने अभियानको प्रारम्भमा छौँ। पार्टी बनाउने अभियानको नेतृत्व सभापति रवि लामिछाने र देश बनाउने अभियानको अगुवाइ वरिष्ठ नेता बालेन शाहले गरिरहनु भएको छ।
रास्वपा यतिबेला पहिलो ऐतिहासिक महाधिवेशनको प्रक्रियामा रहेको र वडा, पालिका, जिल्ला हुँदै प्रदेश अधिवेशन चलिरहेको जानकारी दिँदै उनले अगाडि लेखेका छन्, ‘अधिवेशन प्रक्रियामा देखिएका केही पात्र र प्रवृत्ति तथा उनीहरूको स्वार्थप्रतिको संकेतलाई ‘देश, सरकार र नेतृत्व’ लक्षित टिप्पणीका रूपमा अर्थ्याउनु तत्-तत् मान्छेहरूको ‘नियत’ हो।
उनले ‘ढुक्क हुनुस्, देश रास्वपाको नेतृत्वमै बन्छ’ भनेर स्पष्टीकरण दिएका छन्।
