सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिद पुनरावलोकन समितिमा रिक्त रहेका अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ।
समितिमा रिक्त रहेको एक जना अध्यक्ष र दुई जना सदस्य पदमा नियुक्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४९ बमोजिमको कार्य गर्नका लागि सोही ऐनको दफा ४८ अनुसार यी पदहरूमा पदपूर्ति गर्न लागिएको कार्यालयले जनाएको छ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र इच्छुक उम्मेदवारले केशरमहल, काठमाडौंस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा आफ्नो आवेदन दिनुपर्नेछ।
उम्मेदवार हुनका लागि सार्वजनिक खरिद ऐन बमोजिमको योग्यता र अनुभव भएको हुनुपर्नेछ । साथै, कुनै पनि विदेशी मुलुकको नागरिकता वा स्थायीरअस्थायी आवासीय अनुमति पत्र नलिएको र प्रचलित कानुनले अयोग्य नठहर्याएको व्यक्ति हुनुपर्ने सूचनामा उल्लेख छ।
प्राप्त भएका आवेदनहरू मध्येबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संक्षिप्त सूची (सर्टलिस्ट) तयार गरी नेपाल सरकार मन्त्रिपरिषद्मा पेश गर्नेछ । सोही सूचीका आधारमा उपयुक्त देखिएका उम्मेदवारलाई मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ।

