नक्कली भुटानी शरणार्थी प्रकरण: ओली-आरजु लगायतलाई अदालत झिकाउन माग

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ । सुनुवाइका क्रममा हाइप्रोफाइल व्यक्तिहरूलाई पनि बयानमा बोलाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता भएको छ ।

तीन जना उजुरीकर्ताहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), पूर्वमन्त्री डा.आरजु राणा, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई बयानका लागि झिकाउनुपर्ने माग गरी जिल्ला अदालतमा निवेदन दर्ता गरेका हुन्।

जाहेरीकर्ताहरु रामकुमार रेग्मी, प्रेमराज पन्थी र सुमन दाहालले उनीहरू बाहेक पूर्वमन्त्री बालकृष्ण खाँणकी पत्नी एवं पूर्वसांसद मञ्जु खाँण, पूर्वमन्त्री थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वसांसद अजय क्रान्ति शाक्य र काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई समेत अदालतको बयानमा झिकाउन माग गरेका छन्।

उनीहरूले निवेदनमार्फत अदालतमा माग गरेका छन्, ‘उनीहरूले यस मुद्दाका प्रतिवादीहरूबाट रकम बुझी लिइएको प्रमाणित हुने विभिन्न डिभाईसहरु यस अगाडि नै सम्मानित अदालतमा बुझाइसकेको सम्बन्धमा निजहरुलाई नै अदालतमा उपस्थित गराई निजहरूको बयान बकपत्र मार्फत कानुन बमोजिम प्रमाण मूल्याङ्कन गरी पाउँ।उनीहरूको नाम भएको, कतिपयले बकपत्रमा समेत नाम उल्लेख गरेकाले उनीहरूलाई छानबिनका लागि झिकाउनुपर्ने निवेदकहरूको माग हो।

उनीहरूको निवेदन बिहीबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ। उनीहरूले आरोपित कतिपयको सम्पत्ति समेत रोक्का नभएको भन्दै सम्पत्ति समेत रोक्का राख्न माग गरेका छन् ।

निवेदन सम्बोधन भएमा अदालतले पूर्वप्रधानमन्त्री ओलीदेखि पूर्वमेयर शाक्यसम्मलाई अदालतमा बकपत्रका लागि झिकाउनसक्छ । तर त्यो निवेदनको भरमा प्रहरीबाट फौजदारी अनुसन्धान सुरु हुन सक्दैन। तीन वर्षअघि नक्कली शरणार्थी प्रकरण सतहमा आउँदा उनीहरूको नाम पनि जोडिएको थियो । तर प्रहरीले उनीहरूलाई अनुसन्धानमा तानेको थिएन।

बिहीबार बहसका क्रममा पीडितको तर्फबाट वकालत गरेका कानुनी व्यवसायीहरुले ओली लगायतका हाइप्रोफाइलहरुलाई बकपत्रमा झिकाउन माग गरेका थिए। तत्काल त्यसको प्रतिवादमा उत्रिएका आरोपितका कानुन व्यवसायीहरुले मुद्दामा असम्बन्धित व्यक्तिलाई जबर्जस्ती जोडिएको भन्दै आपत्ति जनाएका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुविरुद्ध चलेको किर्ते, राज्यविरुद्धको कसुर, ठगी र सङ्गठित अपराधको मुद्दामा जिल्ला अदालत काठमाडौंमा बुधवारदेखि अन्तिम सुनुवाइ चलिरहेको छ।