देउवा पक्षले भन्यो-आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

काठमाडौं। निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई दिएकोप्रति शेरबहादुर देउवा पक्षले आपत्ति जनाएको छ। देउवा पक्षका प्रवक्ता डा.प्रकाशशरण महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाएका छन्।

शुक्रवार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले भने,निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो। अब हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौँ।

निर्वाचन आयोगको शुक्रवार बसेको बैठकले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको हो। आयोगले आवश्यक कागजात अध्ययन गरी थापा नेतृत्वको केन्द्रीय समितिलाई वैधानिक मान्यता दिएको जनाएको छ।

पुस २७ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो ।

देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिरसहित आयोगमा छुट्टै कागजात पेस गरेको थियो ।