सबैतिर चुकेको जेनजी सरकार,मुलुक झन् नाजुक अवस्थामा
रुषा थापा
भुक्तानी नपाएपछि अस्पतालहरुले धमाधम स्वास्थ्य बीमा सेवा बन्द गर्न थालेका छन् । कोरोना बीमा वा स्वास्थ्य बीमाबापत उपचार गराइएका अस्पतालले ४३ अर्ब भुक्तानी पाएका छैनन् । सरकारले यो भुक्तानी दिन नसकेपछि सरकारी होस् या निजी अस्पतालहरुले बीमा सेवा भटाभट बन्द गरिरहेका छन् । योसँगै निर्माण व्यवसायीको ४५ अर्ब भुक्तानी दिन सकिएको छैन ।
जसका कारण सरकारी भवन, सडक, पुल, विद्यालयहरु अलपत्र परेका छन् । दुध तथा उखु किसानको सात अर्ब बक्यौता छ । पैसा नभएपछि सरकारले उखु किसानको अनुदान कटौती गरिसकेको छ । सुशीला कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको झण्डै पाँच महिना हुन लागेको छ । यसबीचमा उनले एक खर्ब ५५ अर्ब ३६ करोड वैदेशिक ऋण लिएकी छन् । योसँगै मुलुकको वैदेशिक ऋण २९ खर्ब ४२ अर्ब पुगेको छ ।
ऋण निरन्तर बढिरहेको छ, त्यो चाँहे आन्तरिक होस् या वैदेशिक । राजस्व उठ्न छोडिसक्यो । सबैतिर मन्दी छाएको छ । बेरोजगारी बढ्दो छ। खान नपाएपछि आपराधिक घटनाहरु बढ्न थालेका छन् । देश झनै नाजुक अवस्थामा पुगेको छ । जेनजी आन्दोलनपछि गठित कार्की सरकारले अर्थतन्त्र चलायमान बनाउने, मुलुकमा सुशासन बसाल्ने जनताको आशा थियो । विडम्बना, आशा निराशामै बदलिएको छ ।
उनी पनि पुरानै राजनीतिक दल र सरकारको बाटोमा हिँडेकी छन् । हप्तैपिच्छे वैदेशिक ऋण स्वीकृत गर्ने, कर्मचारीको सरुवा–बढुवामै उनी व्यस्त देखिन्छिन् । अर्कोतर्फ, सुशासन बसाल्न बसेको सरकार निरन्तर कुशासनको बाटोमा हिँडिरहेको छ । कहिले विध्वंशकारीलाई छोडिदिन्छ त कहिले सहकारी ठगलाई । यसले यो सरकारप्रति पनि जनआक्रोश बढ्दो छ । सरकारको काम देश र जनताको धनसम्पत्तिको सुरक्षा गर्नु हो ।
दुर्भाग्य, प्रधानमन्त्री कार्की यसमा पनि चुकेकी छन् । छिमेकी भारत र चीनले नेपाली भूभागमा रजगज चलाइरहेका छन् । कालापानी, लिम्पियाधुरा, लिपुलेकमाथि आँखा गाँडेर बसेका छन् । दार्जिलिङ, सिक्किम, तिब्बत, बाघघाम, हाजीपुर, काँगडा टिष्ट, गोरखपुरलगायत नेपाली भूभाग त भारत र चीनले लगे नै सँगै यी भूभागमाथि पनि नजर लगाइरहेका छन् । प्रधानमन्त्री कार्कीले यी भूभाग फिर्ता ल्याउन पहल गरेको देखिँदैन ।
उनी त यो भूभाग नेपालको हो भनेरसमेत बोल्दिनन् । अनि यस्ता व्यक्तित्वबाट देश र जनताको सुरक्षा हुन्छ, देशमा विकास हुन्छ भनेर ठान्नु मुर्खता हो । पुराना राजनीतिक दलहरुले राज्यको सम्पत्ति दोहन गरे । सरकारी सम्पत्ति व्यक्तिको नाममा लगे । काठमाडौं उपत्यकासहित देशभरको सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, ढुंगेधारा, कुँवा, वनजंगल, खोला नदी, हदबन्दी बढीलगायतका जग्ग विगतमा सरकारी कर्मचारी, दलाल, कानून व्यवसायी र राजनीतिक पहुँचमा व्यक्तिका नाममा लगियो । पुराना दलहरुले देश सिध्याए भनेर युवा पुस्ता सडकमा ओर्लिए । त्यसक्रममा झण्डै ८० जनाले ज्यान गुमाए ।
आन्दोलनपछि गठित सरकारले दलहरुद्धारा व्यक्तिका नाममा लगिएका सरकारी सम्पत्ति खोजतलास गरी पुनः राज्यको स्वामित्वमा ल्याइने भरोसा गरिएको थियो । तर, यो सरकार पनि पुरानै बाटोमा हिँड्यो । अझ जेनजी सरकारको नेतृत्व गरिरहेकी सुशीला कार्की स्वयंले तीन आना सरकारी जग्गा कब्जा गरेको आरोप लागेको छ । अनि यस्ता व्यक्तिबाट देशमा सुशासन कायम हुन्छ, भ्रष्टाचार अन्त्य हुन्छ भन्नु हाँस्यास्पद छ ।
काठमाडौंको मात्र लाखौं रोपनी सरकारी जग्गा व्यक्तिको कब्जामा गएको छ । गौशाला भण्डारखाल तथा सिफरचौरमुनिको हजारौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गएको छ । उता, माइती नेपाल विजयचोक, पिंगलस्थानलगायतको सरकारी जग्गा पनि हड्पिएको छ । मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको जग्गासमेत कब्जा भइरहेको कब्जा छ । तर, सरकार आफ्नै सम्पत्ति खोज्दैन, किन ? सरकारमा बसेकाहरु सबै काण्डैकाण्डमा मुछिएका छन् ।
उनीहरु आफैंले सरकारी सम्पत्ति दोहन गरेका छन् । यसले सरकारी सम्पत्ति खोजिएमा आफूहरुको पनि पोल खोलिने डरमा उनीहरु हात बाँधेर बसेको देखिन्छ । पुराना होस् या नयाँ भनाउँदाहरु सबै एउटै हुन्, सबैलाई सरकारी सम्पत्ति कसरी दोहन गर्ने भन्नेमात्र छ । अहिले देश बनाउने भन्दै रवि, बालेन, कुलमानहरु तातिएका छन् । रविको विगत होस् या वर्तमान काण्डैकाण्डले ढाकिएको छ । उनीमाथि सहकारी ठगीको मात्र पाँच वटा मुद्दा छ ।
यतिमात्र होइन, अमेरिकामा समेत उनीमाथि दर्जनौं मुद्दा छन् । उता, बालेनमाथि सिंहदरबार खरानी बनाएको आरोप छ । कुलमानमाथि विद्युत प्राधिकरणमा रहँदा अर्बौ भ्रष्टाचार गरेको आरोप छ । अनि यस्ता ठग व्यक्तिहरुबाट देश बन्छ ? पुराना नेताहरु ठिक भएनन्, उनीहरुले आफ्नो स्वार्थका निम्ति देश तहसनहस बनाए । तर, यसको फाइदा रवि, बालेन, कुलमानजस्ता ठग व्यक्तिहरुले उठाउन खोजिरहेका छन् ।
बलेको आगो तापेर उनीहरु आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेका छन् । त्यसैले, अब जनता सचेत हुनुपर्छ । यहाँ को पनि सग्लो छैनन् । पुराना होस् या नयाँ भनाउँदाहरु सबै देश बनाउन होइन, सिध्याउन आएका हुन् । प्रचण्डले आफ्नो स्वार्थ पूरा गर्न १७ हजार जनता मार ।
माधव नेपालले लाखौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लगिदिएका छन् । ओलीले पनि प्रधानमन्त्री हुँदा आफ्नालाई पोस्ने र राज्यलाई हानि पुग्ने दर्जनौं निर्णय गरेका छन् । बाबुराम, झलनाथले पनि प्रधानमन्त्री हुँदा अर्बौ भ्रष्टाचार गरेको आरोप छ । गगन थापा स्वास्थ्यमन्त्री रहँदा बाख्रा पाल्ने नाममा करोडौं भ्रष्टाचार गरेको आरोप छ ।
अनि यस्ता व्यक्तिहरुबाट देश बन्छ भन्नु लाजमर्दो छ । राजाले खाए हामीले खान पाएनौं भनेर कांग्रेस, एमाले, माओवादी, मधेशी दलहरु उदाए। अनि दलहरुले खाए हामीले खान पाएनौं भनेर नयाँ भनाउँदाहरुको उदाय भएको हो । अब जनताले सबैको अनुहार चिनिराखौं । भ्रममा नपरौं । विगतमा जनताको चाहनालाई सम्मान गर्दै राजाले श्रीपेच त्यागे, दरबार छोडे । र, जंगल पसे । उनी अहिले साधारण जीवन बिताइरहेका छन् ।
तर, एउट राजाको अन्त्य हुँदा हजारौं छोटे राजाहरुको उदय भयो । अहिले राजनीतिलाई सेवा होइन, कमाउखाने भाँडो बनाइयो । यो कुरा जनताले बुझ्न आवश्यक छ । नत्र देश र जनता आफैंले दुःख पाउनेछन् । पटकपटक आन्दोलन भइरहन्छ र जनताका छोराछोरी मरिरहन्छन् । त्यसकारण आउँदो चुनावमा लोकप्रिय व्यक्तिलाई होइन, इमानदार र देश र जनताको निम्ति सोच्ने व्यक्तिलाई जिताऔं ।
