कांग्रेसबाट बाजुरामा जनक गिरी उम्मेदवार,चुनावी प्रतिस्पर्धा तातिँदै
काठमाडौं। नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरा जिल्लाबाट जनक गिरीलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको बैठकले गिरीलाई बाजुराको प्रतिनिधिसभा सदस्यका रूपमा चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो।
जनक गिरी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा समूहका केन्द्रीय सदस्य हुन्। सभापतिमा गगन थापा निर्वाचित भएसँगै पार्टीभित्र शक्ति सन्तुलन परिवर्तन भएको र त्यसको प्रत्यक्ष प्रभाव टिकट वितरणमा देखिएको कांग्रेस नेताहरू बताउँछन्। सोही राजनीतिक परिवेशमा गिरीले बाजुराबाट टिकट पाउन सहज वातावरण बनेको हाे।
यसअघि कांग्रेस जिल्ला कार्यसमिति बाजुराले जनक गिरीसहित पार्टी सभापति रामसिंह रावल, पूर्व सभापति कविराज पण्डितलगायत छ जना आकांक्षीको नाम केन्द्रीय समितिमा सिफारिस गरेको थियो। बाजुरा जिल्लामा राम्राे पकड भएका नेताकाे रूपमा पनि गिरीलाई हेरिने गरिएकाे छ।
स्वामीकार्तिक खापर गाउँपालिका, बाजुराका स्थायी बासिन्दा रहेका जनक गिरी पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन्। उनी स्थानीय विकास, भूमि सुधार र सामाजिक न्यायका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। बाजुरामा संगठन निर्माणमा उनको भूमिका उल्लेखनीय रहेको कांग्रेस कार्यकर्ताहरूको दाबी छ।
कांग्रेसको यो निर्णयसँगै बाजुराको चुनावी राजनीति थप चासोको केन्द्रमा पुगेको छ। एकातिर गगन थापा नेतृत्वको सन्देश स्थानीय तहसम्म पुर्याउने रणनीति देखिएको छ भने अर्कोतिर अनुभवी नेतामार्फत बाजुरामा पार्टीको आधार बलियो बनाउने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ। अब जनक गिरीको उम्मेदवारीले बाजुरामा कांग्रेसको चुनावी प्रतिस्पर्धालाई कस्तो दिशा दिन्छ भन्ने याे चासोका साथ हेरिएको छ।
