सुनको मूल्यमा एकैदिन भारी वृद्धि, पुग्यो ३ लाख नजिक

काठमाडौं। बुधबार एकैदिन सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो। अघिल्लो दिन २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य उच्च दरले बढेसँगै नेपालमा प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९२० रुपैयाँ पुगेको छ।