६ महिनामा प्रेस काउन्सिलमा १६३ उजुरी दर्ता,सञ्चारमाध्यमलाई सचेत रहन निर्देशन
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा प्रेस काउन्सिल नेपालमा १६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म यी उजुरी दर्ता भएका हुन् ।
प्रेस काउन्सिलका सहप्रवक्ता रामशरण बोहराका अनुसार दर्ता भएका उजुरीमध्ये ७७ वटा खण्डन सम्बन्धी पत्राचार गरिएको, ५२ वटा उजुरीको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको र १४ वटा क्षमायाचना वा भूलसुधार गराइएको छ।
त्यसैगरी, पाँचवटा सामग्री स्थगित गरिएको, १० वटा सामग्रीबारे स्पष्टीकरण सोधिएको, पाँचवटा सामग्रीमा निर्देशन वा सचेत गराइएको र एक सञ्चारमाध्यमलाई अवज्ञाकारी/कालोसूचीमा राखी कारबाही गरिएको छ।
सो अवधिमा ६३२ वटा मिडिया/वेबपोर्टल/सामाजिक सञ्जालका ७४४ सामग्री स्वअनुगमन गरिएका छन्। बोहराका अनुसार,जसमध्ये ४४७ वटा मिडिया र १८५ वटा गैरमिडिया हुन्। आचारसंहिता उल्लङ्घनको गम्भीरताका आधारमा १३६ वटा मिडिया र २७ वटा गैरमिडियालाई निर्देशन एवं सचेत गराइएको छ। कुनै सम्पर्क नभएका २० वटा गैरमिडियाका विषयमा अनुसन्धान गरी कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार गरिएको छ।
काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमबाट आचारसंहिता पालनामा नियमित अनुगमन गर्दै आएको र निर्वाचन आचारसंहिता लागू भएको परिप्रेक्ष्यमा विशेष अनुगमन प्रक्रिया सुरु गरेको जनाएको छ ।
विज्ञप्तिमा काउन्सिलले भनेको छ,निर्वाचनको समयमा राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या, आधारहीन आरोप–प्रत्यारोप, मिथ्या सूचना, दुष्प्रचार, हेट स्पिच जस्ता सामग्री सञ्चारमाध्यममा नपर्न र यसबाट निर्वाचन प्रक्रियामा असर नपरोस् भन्ने सुनिश्चित गर्न सञ्चारमाध्यम, पत्रकार र सञ्चारकर्मी सदैव सजग रहनुपर्छ।
साथै,पत्रकारिताका मूल्य–मान्यताविपरीत गैरपेशागत आचरण, तथ्य परीक्षणबिना सामग्री प्रकाशन, सामाजिक सञ्जालको दुरुपयोग, मिथ्या समाचार फैलाउने र उत्तेजक सामग्री तयार गर्ने कार्य हुन नदिन सञ्चारमाध्यम, पत्रकार तथा सञ्चारकर्मीलाई सचेत गराइएको छ ।
