स्वतन्त्र उम्मेदवारलाई भोलि चुनाव चिह्न दिइने
काठमाडौं। निर्वाचन आयोगले माघ ९ गते शुक्रवार स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्ने भएको छ। बिहीवार साँझ निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले उक्त जानकारी दिएका हुन्।
यसैगरी निर्वाचन आयोगले उम्मेदवारहरूका विरुद्ध परेको चारवटा उजुरी खारेज भएको जानकारी दिए। यसैगरी कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको जानकारी दिए।
उनले बिहीवार साँझ सात बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने बताए। यदि आफूले दिएको उम्मेदवारी फिर्ता लिन चाहे शुक्रवार उम्मेदवारहरूले नाम फिर्ता लिनसक्ने बताए।
घिमिरले भने, ‘उम्मेदवारहरुका विरुद्ध परेको उजुरीउपर चारवटा उजुरी खारेज भएका छन्। कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय भएको छ। भोलि उमेदवारहरूले आफ्नो नाम फिर्ता लिने कार्यक्रम रहेको छ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि देशभर माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो। जसमा ५ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो। भक्तपुर २ मा दुईवटा,सुनसरी २,रौतहट १,कैलाली १ मा भने एक-एक वटा उजुरी परेका थिए।
