मेचीदेखि महाकालीसम्म नेकपाको लहर चलेको छ: माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराउन चाहेको दाबी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गरे । उनले युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको बताए।

उनले भने,चुनावमा जनताले जिताउन चाहेका छन् नेपाली कम्युनिष्ट पार्टीलाई। सबैभन्दा ठूलो नम्बर एक पार्टीको रूपमा यसलाई विजयी बनाउनका लागि मेचीदेखि महाकालीसम्म एउटा अभियान चलिरहेको छ। लहर चलिरहेको छ। त्यसको अगुवाइ ओखलढुंगाले गर्नुपर्छ।

यतिकै भनिएको होइन मेरो प्यारो ओखलढुंगा। यो जिल्लाले पूर्वलाई पनि तरङ्गित गर्नेछ, पश्चिमलाई पनि तरंंगित गर्नेछ। हिमाल, पहाड तराई सबैलाई तरङ्गित गर्नेछ। यसले अहिलेको चुनावमा कीर्तिमान त कायम गर्छ । जनताको भावनाअनुसार हामी काम अघि बढाउनेछौँ।