निर्वाचनमा एक थापो रगत नबग्ने गरी सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्न सरकारले पूर्ण शक्ति लगाएको बताएकी छन्।
शुक्रबार सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवस (रजत महोत्सव) को अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुरक्षा चुनौतीहरू समयसापेक्ष रूपमा परिवर्तन भइरहेको उल्लेख गरिन्।
उनले विगतका निर्वाचनहरूलाई स्वतन्त्र, निष्पक्ष र त्रासरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सम्भावित सुरक्षा जोखिमहरूको गहन अध्ययन गरी उच्च सतर्कता, व्यावसायिकता र समन्वयका साथ कर्तव्य निर्वाह गर्न निर्देशन दिइन्।
उनले निर्वाचनको सुरक्षाका लागि सबै सुरक्षा निकायहरूलाई पूर्ण रूपमा परिचालन गर्ने निर्णय भइसकेको जानकारी दिइन्। निर्वाचन प्रक्रियामा एक थोपा पनि रगत नबगोस् र कोही पनि घाइते नहोस् भन्दै त्यसैअनुसार कडा सुरक्षा व्यवस्था मिलाउन जोड दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘सुरक्षा चुनौतीहरू समयानुसार बदलिँदै गएका छन्। विगतका निर्वाचनहरूलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरी बलले खेलेको भूमिका अत्यन्त प्रशंसनीय छ।उनले थपिन्,वर्तमान संक्रमणकालको अन्त्य गरी मुलुकमा दिगो स्थायित्व स्थापना गर्न सरकारले सम्पूर्ण प्रयास गरिरहेको छ।
निर्वाचनमा शून्य हिंसा सुनिश्चित गर्न सबै सुरक्षा अङ्ग परिचालन गरिसकिएको छ। निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन, कोही पनि घाइते हुनु हुँदैन।
उनले निर्वाचनलाई सफल, शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै सुरक्षा निकायले उच्च व्यावसायिकता प्रदर्शन गर्नेमा पूर्ण विश्वास व्यक्त गरिन् ।
