सहकारीपछि बैंक डुबाउँदै रवि,करोडौंको जमानतको स्रोत के ?

फाइल तस्वीर

बैंकमा दश लाखभन्दा बढी रकम राख्दा अनिवार्य रुपमा स्रोत खुलाउनुपर्छ । दश लाखभन्दा बढीको स्रोत खुलाएर र त्योभन्दा कमको स्रोत नखुलाई आम सर्वसाधारणले बैंकमा खर्बौ रकम राखेका छन् । सम्बन्धित व्यक्तिले बैंकमा राखेको दश लाखमाथि रकम कसरी आम्दानी गरिएको हो ? राज्यलाई राजस्व तिरेको छ कि छैन ? भनेर बैंकमा विवरण पेश गर्नुपर्छ । अनि मात्र बैंकले निक्षेप राख्छ ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हकमा भने यो लागू नभएको देखिन्छ । सर्वसाधारणले दश लाखमाथि निक्षेप राख्न अनिवार्य स्रोत खुलाउनुपर्दा रवि भने धमाधम करोडौंको करोडौं बैंक जमानत राखेर छुटिरहेका छन् । पर्सामा सहकारी ठगी आरोपमा हालै मात्र उनी धरौटीस्वरुप एक करोड बैंक जमानत राखेर छुटेका छन् ।

त्यसअघि रुपन्देहीको सहकारी ठगीमा झण्डै चार करोड बिगो बैंक जमानत राखेर उनी छुटेका थिए । यसबाहेक विभिन्न तीन वटा जिल्लाबाट पनि उनी लाखौं–करोडौं धरौटी बैंक जमानता राखेर निस्किएका छन् । उनको धरौटीमात्र हिसाब गर्ने हो भने दश करोड बढी भइसकेको छ । अनि यो पैसाको स्रोत के हो ? उनले कहाँबाट यो पैसा ल्याए ?

श्रीमती निकिता पौडेल घर बनाउन पैसा नपुगेको भन्दै फेसबुकमा रुवाबासी गर्ने अनि श्रीमान रवि चाँहि धमाधम करोडौं धरौटी तिरेर छुट्ने ! अर्कोतर्फ, बैंक किन उनको जमानत बसिरहेको छ ? गम्भीर प्रश्न उब्जिएको छ । एकचोटि होइन, दुई चोटि होइन, पटकपटक बैंक रविकै जमानत बसिरहेको छ, यसले दालमा कालो भएको देखिन्छ ।

आम सर्वसाधारण एक सय रुपैयाँदेखि दश हजार धरौटी तिर्न नसक्दा जेलमा थुनिएका छन् । उनीहरुका लागि बैंक किन जमानत बस्ँदैन, जबकी उनीहरुको त धरौटी पनि निकै कम छ । रविको लागि मात्र बैंक किन जमानत बस्छ ? अब राष्ट्र बैंकले जवाफ दिनुपर्छ । बैंकमा भएको पैसा आम नागरिकको हो । जनताले रगतपसिना बगाएर कमाएर राखेको पैसा हो । अहिले बैंक रविको लागि जमानत बसिरहँदा बैंकमा सर्वसाधारणले राखेको रकमसमेत जोखिममा परेको छ ।

रविले सहकारीमार्फत त लाखौं सर्वसाधारणको अर्बौ रकम ठगे नै सँगै सो अपराधबाट उम्कन पनि जनताकै पैसा प्रयोग गरिरहेका छन् । बैंकहरुले अब जवाफ दिनुपर्छ कि के आधारमा उनीहरु रविको लागि जमानत बसेका हुन् । रविको बैंकमा अर्बौ रकम छ ? कि अर्बौको घरजग्गा, गाडी, सेयर छ ? यदि छ भने त्यसको स्रोत के हो र ? नभए किन सित्तैमा रविको जमानत बसेको ?

रवि पनि आम नागरिक नै हुन् । उनको व्यापार व्यवसाय न कुनै रोजगारी । उनले अमेरिकामा रहँदा पैसा कमाए होला । तर, त्यो पैसा उनले त्यहाँ खर्च गरेनन् होला र ? अमेरिकामा खान, बस्न सबैको लागि पैसा तिर्नुपर्छ । त्यहाँ पानीसमेत किनेर खानुपर्छ । अनि त्यस्तो ठाउँमा बसेर उनले नेपालमा कति चाँहि पैसा ल्याए होला ?

नेपाल फर्किएपछि उनले सञ्चार कर्म गरेको कुरालाई नर्कान सकिँदैन । तर, सञ्चारकर्मीको तलब महिनाको कति हुन्छ र ? यहाँ दश हजारदेखि बढीमा ४० हजार मासिक तलबमा दिन रात नभनी पत्रकारहरुले काम गरिरहेका छन् । रविले पनि पक्कै यति नै तलबमा काम गरे होलान् ?

यति तलबले केही वर्षमै करोडौं कमाइन्छ त ? पुराना दल र नेताहरुको आम्दानीको स्रोत खोज्ने रवि अहिले आफ्नो बारेमा भने मौन छन् ।
अब उनले जवाफ दिनैपर्छ । धरौटीको रकम कहाँबाट ल्याइएको हो ? रविले जनतालाई उत्तर दिनुपर्छ । बैंकहरु पनि रविप्रति उदार, अरुप्रति अनुदार देखिन्छन्।

तीन करोडको धितो राखेर ९० लाख ऋण लिएकाहरुले तीन किस्ता नतिर्नेबित्तिकै बैंकले धितो लिलाम गर्छ । यतिमात्र होइन, एक प्रतिशत सेवाशुल्क भनेर तीन प्रतिशत, १२ देखि १८ प्रतिशत ब्याज भनेर ८० प्रतिशतसम्म असुलिन्छ । बैंकका कर्मचारी, अध्यक्ष र सञ्चालकलाई घुस नदिई ऋण पाइँदैन ।

बैंक बचतकर्ताप्रति पनि अनुदार छ । बचतकर्ताको निक्षेपको जम्मा एकदेखि बढीमा तीन प्रतिशत ब्याज दिइन्छ । अझ बैंकका कर्मचारीहरुको मिलेमतोमा बचतकर्ताको खाताबाटै रकमसमेत चोरिन्छ । अनि जो (बचतकर्ता र ऋणी) बाट बैंक चलिरहेको छ, उसलाई कँहीकतै केही सुविधा नदिने, सहकारी ठगलाई चाँहि सुविधैसुविधा ।

उसैको लागि मात्र जमानत बसिदिने । रविले सहकारी त डुबाए, अब बैंक पनि डुबाउँछन् । यसले जनता सचेत हौं । नभए सहकारीका बचतकर्ताजसरी रुनु पर्ला । बैंकमा जनताले विश्वास गरेर आफ्नो दुःखको कमाई राखेका हुन् । विडम्बना, बैंकहरुले आफ्नो स्वार्थका लागि जथाभावी त्यो पैसा लगानी गरिरहेका छन् । रविसँगै उद्योग, वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई पनि बैंकले डेढ अर्ब ऋण दिएको छ ।

तर, धितो सरकारी जग्गा राखिएको भन्दै अदालतमा मुद्दा विचाराधीन छ । गोल्छाले केही गरी मुद्दा जितेपनि त्यो जग्गाको कुनै पनि हालतमा डेढ अर्ब आउने छैन । भाटभटेनी साहु मिनबहादुर गुरुङले पनि देशभरका साढे दुई दर्जन भाटभटेनी धितो राखेर ५३ अर्ब ऋण लिएका छन् । जेनजी आन्दोलनमा दुई दर्जन भाटभटेनीमाथि तोडफोड, आगजनी र लुटपाट भयो । एकातिर भवन खरानी, अर्कोतिर व्यापार ठप्प भएपछि गुरुङले पनि ऋण तिर्नसक्ने सम्भावना न्यून छ । यसले डुब्ने भनेको बैंक नै हो ।

यसैगरी, वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २८ करोड, एमाले नेता महेश नेताले सात करोड, दुर्गा प्रसाईंले ११ करोड र पूर्वमन्त्री दिपक खड्काले १४ करोड रुपैयाँ ऋण कमसल धितो राखेर बैंकबाट लिएका छन् । उनीहरुको धितो बेच्दा आधाको आधा मात्र ऋण उठ्ने छ । यसले बैंकलाई त केही असर नपर्ला, तर बैंकमा निक्षेप राखेका जनता त डुब्नेछन् ।

हिजो सहकारी डुब्दा बचतकर्ता डुबे । सञ्चालक, अध्यक्ष, कर्मचारीहरु त भागे तर दुःखको कमाई डुबेको सहन नसकेपछि धेरैले आत्महत्या गरे। कतिपय डिप्रेसनमा गएका छन् । अनि बैंक पनि सहकारीकै हालतमा पुगे बचतकर्ताको हालत के होला ? बैंकले निक्षेप लगानी गर्नुपर्छ । लगानी नगरी आम्दानी र नाफा हुदैन पनि । तर, लगानी गर्ने भनेर जथाभावी लगानी गर्ने होइन । निकै सोचविचार र अध्ययन गरेर मात्र पैसा लगानी गर्ने हो ।

दुर्भाग्य, बैंकका अध्यक्ष, सञ्चालक र कर्मचारीहरुले आफ्नै पैसाजसरी जथाभावी लगानी गरे । कमिशन खाएर कमसल धितोलाई करोडौं ऋण दिए त कमिशन नपाएमा उद्योग, कृषि, व्यापार व्यवसाय गर्न पनि ऋण नदिने । बैंकको यस्तो हर्कतका कारण एकातिर देशमै केही गर्छु भन्ने युवाहरु ऋण नपाएकै कारण विदेश पलायन हुनुपर्यो, अर्कोतिर आम सर्वसाधारणको पैसा जोखिममा परेको छ । यसले, बैंकमा निक्षेप राखेका जनता अब होसियार हौं । बैंकमा मेरो पैसा सुरक्षित छ भनेर ढुक्क नहौं ।