केही दिनअघि एमाले प्रबेश गरेका विष्णु दत्त जोशी आत्मआलोचनासहित नेकपामा पुनः फर्किए

काठमाडौं। पूर्व माओवादी कार्यकर्ता विष्णु दत्त जोशीले नेपाली कम्युनिस्ट पार्टी छोडेर (एमाले) प्रवेश गरेको केही समय नबित्दै पुनः नेकपामा फर्किएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक आत्मआलोचनासहित जोशीले आफू पुनः “घर फर्किएको” स्पष्ट पारेका हुन्।

जोशीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै वैचारिक विचलन र क्षणिक राजनीतिक निर्णयले आफूलाई भ्रममा पारेको स्वीकार गरेका छन्। उनले कम्युनिस्ट आन्दोलनको मूल्य, जनपक्षीय राजनीति र वर्गसंघर्षको दिशाबाट टाढा जानु गल्ती भएको भन्दै त्यसप्रति आत्मआलोचना व्यक्त गरेका छन्। एमाले प्रवेश आफ्नो राजनीतिक यात्राको सही निर्णय नभएको निष्कर्ष निकाल्दै उनले पुनः कम्युनिस्ट आन्दोलनको मूल धारमा फर्किएको बताएका छन्।

उनका अनुसार तत्कालीन परिस्थितिका कारण लिएको निर्णयले आत्मसन्तुष्टि नदिएको अनुभूति भएपछि पुनर्विचार गर्न बाध्य भएको बताए। “जहाँबाट संघर्ष सुरु भयो, त्यहीँ फर्किनु नै सही ठानेँ,भन्ने आशयका साथ उनले कम्युनिस्ट आन्दोलनभित्रको अनुशासन, विचार र सामूहिकताप्रति पुनः प्रतिबद्धता जनाएका छन्।