प्रहरी नै बालेनको पक्षमा भोट माग्दै हिँडेको खुलासा

काठमाडौं। प्रहरी संगठनभित्रैबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहको पक्षमा भोट माग्दै हिँडिएको तथ्य बाहिर आएको छ।

सादा पोसाकमा रहेका प्रहरीले बालेन शाहको पक्षमा मत मागिरहेको देखिने श्रव्य–दृश्य सामग्री सार्वजनिक भएपछि निर्वाचन आयोगले यस विषयमा स्पष्टीकरण सोधेको छ । शाहसँग यो दोस्रोपटक स्पष्टीकरण मागिएको हो।

निर्वाचन आयोगले शाहको चुनावी प्रचारप्रसारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा वास्तविक अवस्था के थियो भन्नेबारे स्पष्टिकरण मागेको जनाएको छ।

सुरक्षाकर्मी राजनीतिक गतिविधिमा संलग्न हुनु निर्वाचन आचारसंहिताको स्पष्ट उल्लङ्घन हुने भन्दै आयोगले घटनालाई गम्भीर रूपमा लिएको छ।

नेपालको निर्वाचन कानुन र आचारसंहिताअनुसार प्रहरी, प्रशासन तथा सुरक्षाकर्मीहरू राजनीतिक गतिविधिमा संलग्न हुन पाउँदैनन्। घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी र सम्बन्धित प्रहरी निकायको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आशंकामा थप नौ जनासँग स्पष्टीकरण सोधेको छ।आयोगका अनुसार शनिबारसम्म २१ जनासँग स्पष्टीकरण सोधिएकोमा आइतबार र सोमबार थप नौ जनासँग स्पष्टीकरण माग गरिएको हो।

यसैगरी, आयोगले बाजुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हेमराज थापा र सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटालगायतसँग पनि स्पष्टीकरण सोधेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म सोधिएका २९ वटा स्पष्टीकरणमध्ये १४ वटाको जवाफ आयोगले प्राप्त गरिसकेको छ ।