टिपरसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

विराटनगर । झापाको दमकमा टिपरसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दमक नगरपालिका–१ बरगाछीमा बुधबार दिउँसो दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरमा दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राईको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरेर उपचारका लागि दमक अस्पतालमा लगिएको थियो। अस्पताल पुर्याउनसाथ दुवै जनालाई चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ।

दुर्घटना लगत्तै प्रहरीले टिपर र चालक उदयपुरको त्रियुगा नगरपालिका–९ रातमाटेका ३२ वर्षीय हिवराज रायलाई नियन्त्रणमा लिएको छ।