मलद्वार र डस्टबिनबाट सुन बरामद,दुई जना पक्राउ

काठमाडौं।नेपाल प्रहरीले दुई छुट्टाछुट्टै घटनामा सुनसहित दुई जनालाई पक्राउ गरेको छ। एक जनालाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो भने एक जनालाई डस्टबिनमा सुन लुकाएर लैजाने क्रममा पक्राउ गरिएको हो।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मलद्वारमा सुन लुकाउने भारतीय नागरिक हुन् भने अर्का नेपाली हुन्।

आज फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका भारतीय नागरिक अबु बरकतलाई मलद्वारमा सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको उनले बताए।

शङ्का लागेर जाँच गर्दा मलद्वारभित्र सुन लुकाएको पाइएपछि शौच गराएर १०० ग्रामको अर्धठोस सुन निकालिएको थियो।

यस्तै, विमानस्थलमै सुरक्षा छलेर सुन निकाल्न खोज्ने सुनगाभा सगरमाथा सर्भिस प्रालिका सरसफाइ कर्मचारी डिकबहादुर राउतलाई पनि सुनसहित पक्राउ गरिएको उनले बताए।

उनलाई विमानस्थलभित्र राखिएको डस्टबिनबाट फोहर निकाल्ने क्रममा सुनसहित पक्राउ गरिएको हो। उनले निकाल्न लागेको फोहरको पोकोबाट ४।४ ग्रामका सुनका सिक्रीका टुक्रा फेला पारिएको छ।

आजै अनुसन्धानका लागि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय पठाइएको पनि सिलवालले बताए।