सिंगै गाउँद्वारा निर्वाचन बहिष्कार

काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका गाउँलेहरूले आगामी फागुन २१ का लागि तय गरिएको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । यहाँ पछिल्लो समय लगातार हत्या र लुटपाटका घटना भएका छन् । घटनापछि यहाँका गाउँलेहरूले गाउँ नै छाड्न थालेका छन् ।

यहाँ पछिल्लो एक महिनामा ४ जनाको हत्या भएको थियो । त्यसपछि डराएका गाउँलेहरू जिल्लाबाहिर आफन्तकहाँ गएर बस्न थालेका छन् । गाउँमा बाँकी रहेकाहरू पनि छिमेकीहरू एकै ठाउँमा जम्मा भएर समूहमा सुत्न थालेका छन् । स्थानीयका अनुसार गाउँलेको गोठबाट पशुचौपाया पनि चोरी भइरहेका छन् ।

गाउँलेहरूले असुरक्षाको कारण देखाउँदै मतदान बहिष्कार गर्ने निर्णय गरेका हुन् । उनीहरूले गाउँको सुरक्षाका लागि राज्य र सुरक्षा निकाय गम्भीर नदेखिएको आरोप लगाएका छन्।

यहाँ केही महिनाअघि पनि यस्तै घटना भएका थिए । ती घटनामा संलग्न गिरोह नै समातेको प्रहरीले बताएको थियो । तर अहिले फेरि त्यस्तै घटना हुन थालेका हुन्।

अहिलेका घटनामा संलग्न भने पक्राउ परेका छैनन् । लगातारका हत्या, लुटपाट र हिंसाका घटनाले गाउँमा त्रास र असुरक्षाको वातावरण सिर्जना भएको छ । डराएका गाउँलेहरूको भेलाले राज्य नागरिकको जिउधनको सुरक्षा गर्न असफल भएको निष्कर्ष निकाल्दै चुनाब बहिष्कार गर्ने निर्णय गरेको हो ।