विदेश पठाइदिन्छु भन्दै ठग्ने २ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनी रकम उठाएर ठगेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय रुपेश लामिछाने र हिरा तामाङ छन्।

रुपेश काभ्रेको पाँचखाल नगरपालिका ३ घर भई काठमाडौं महानगरपालिका ३२ का बासिन्दा हुन्। हिरा भने धादिङको खनेबास घर भई काठमाडौंको तारकेश्वर नगरपालिका ६ का बासिन्दा हुन्।

रुपेशले अष्ट्रेलिया पठाइदिन्छु भनी एक जनाबाट ९ लाख रुपैयाँ ठगेको पाइएको प्रहरीले जनाएको छ । यसैगरी हिराले स्लोभाकिया पठाइदिन्छु भनेर एक जनाबाट ८ लाख ५० हजार रुपैयाँ असुल गरेर विदेश नपठाइ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।

उनीहरुले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलब पाउने गरी बिभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको भएका भन्दै पीडितहरुले उजुरी दिएका थिए । सोही उजुरी अनुसार अनुसन्धान गरी उनीहरुलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको थियो।

उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा जिम्मा लगाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।