पूर्व शिक्षामन्त्री श्रेष्ठको प्रश्न-हवाईजस्तै सडक दुर्घटनाको छानबिन किन हुँदैन ?
काठमाडौं। पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले हवाई दुर्घटना र सडक दुर्घटनामा ठूलो विभेद गरिएको बताएकी छिन्। बैतडीमा भएको बसदुर्घटनापछि उनले हवाई दुर्घटनामा जस्तो कहिलै किन सडक दुर्घटनाको भने छानबिन हुँदैन भनेर प्रश्नसमेत गरेकी छिन्।
उनले प्रत्येक सडक दुर्घटनाको जाँचबुझ गर्ने एक स्थायी निकाय बन्नुपर्ने,जसले दोहोरिरहने यस्ता दुर्घटनाको छानबिन गरोस् भन्ने माग पनि गरिन्।
उनले आज९शुक्रबार०सामाजिक सञ्जालबाट भनेकी छिन्,‘बैतडीमा हिजो भएको त्रासदिपूर्ण दुर्घटनाले मर्माहत बनाएको छ। हवाई दुर्घटनामा यति हताहती भएको भए हप्तौसम्म चर्चा चल्थ्यो,मिडिया तंरगित हुन्थ्यो, राजनैतिक नेतृत्वले ठूलो चासो लिन्थ्यो, आयोग बन्थ्यो,सडक दुर्घटनाका पीडितहरूको संख्या कयौँ गुणा धेरै हुँदा पनि प्रायः गुमनाम रहन्छन्, यस्तो विभेद किन हुन्छरु हरेक सवारी दुर्घटना पछि मुख्य कारक पत्ता लगाई त्यसको निवारण गर्ने तिर ध्यान किन जाँदैन ?
उनले सदनमा कानून बन्नुपर्ने र सरकारले यसैको लागि बजेट छुट्ट्याएर ठोस कदम चाल्नुपर्ने पनि माग गरिन्।
‘हाम्रो देशमा दोहोरिरहने यस्तो घटनामा कतिमा भूगोल, कतिमा बाटोको डिजाइन र अवस्था कारक हुन्छ भने कतिमा सवारीको दुरावस्था, कतिमा मानविय त्रुटिले पनि भवितव्य हुन्छ,उनले भनिन्,प्रत्येक सडक दुर्घटनाको जाँचबुझ गर्ने एक स्थायी निकाय बनोस् जसले दोहोरिरहने यस्ता दुर्घटनाको छानबिन गरोस् र सवारी दुर्घटना दर न्यून पार्न गर्नु पर्ने काम पहिल्याओस्, सदनमा कानून बनोस र सरकारले यसैको लागि बजेट छुट्ट्याएर ठोस कदम चालोस्,मृतक सबैमा हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने क्षमता मिलोस् भन्ने कामना गर्दछु।
गएराति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख दीपककुमार रायले जानकारी दिए।
दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन्। घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ। बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२००१ ख १११९ नम्बरको बस राति करिब ८ बजेतिर पुर्चौडी नगरपालिका–७ बडगाउँको मोडमा दुर्घटनामा परेको हो।
