२१ फागुनको निर्वाचनमा कांग्रेसले शानदार परिणाम ल्याउछ: सभापति थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पुर्याउन सके २१ फागुनमा हुने निर्वाचनमा पार्टीले शानदार परिणाम ल्याउने दाबी गरेका छन्। शुक्रवार नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सो दाबी ग्रेका हुन्।

उनले अगामी निर्वाचनमा पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर रहेको उल्लेख गर्दै सोहीअनुसार मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरे। विगतको निर्वाचनमा कांग्रेससँग असन्तुष्ट बनेका मतदातासँग सम्पर्क बढाउँदै पार्टीको सन्देशबारे जानकारी दिनुपर्ने उनले बताए।

सभापति थापाले जेन(जी नवपुस्तासँग समेत छलफल गर्नेगरी आफूहरु अघि बढिरहेको बताए। उनले पार्टीभित्र रहेको असन्तुष्टि र मतभिन्नताको समस्या समेत निर्मुल हुँदै गइरहेको बताए।

साथै,निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने विषयमा पूर्वसभापति शेरबहादुर देउवालगायतसँग निरन्तर संवाद भइरहेको पनि उनले बताए । उनले भने, ‘आजको दिनको हाम्रो सन्देश मात्रै ठिक ढंगले घरघरमा पु्र्याउनसक्ने हो भने नेपाली काँग्रेस पार्टीले सानदार परिणाम ल्याउने कुरा कसैले रोक्न सक्दैन। भइसक्यो भन्ने हैन। यो तपाईं र ममा भर पर्छ। तल मतदाता छन्। ती मतदाता आजको दिनमा के सोचिरहेका छन्।

गएको निर्वाचनमा २७ लाख मतदाताले कांग्रेसलाई भोट हालेको स्मरण गर्दै उनले पुनः मतदातासमक्ष एकपटक जानुपर्ने पनि उनले बताए । उनले भने, ‘२७ लाख मतदाताले अघिल्लो निर्वाचनमा हामीलाई मत हालेका हुन् हामीसँग रिसाएकै बेलामा । ती मतदातासँग आज गएर एकचोटि गएर बुझाउँदाखेरी पुग्छ।

कम्तिमा ४,५ लाख मतदाताले अघिल्लो पटक काँग्रेसलाई मत हाल्छु भन्ने ठानेको तर हाम्रा केही निर्णयसँग चित्त नबुझाएर मत नहालेको हो। ती सबैलाई हामीले भेटेर सम्झाउनुपर्ने छ। नवपुस्तासँग पनि हामीले भेट्नुपर्ने छ। सबैजनाले उम्मेदवारजस्तै खटिएर हाम्रो सन्देश पुर्याउँदै गर्दा यो निर्वाचनमा सबैभन्दा सानदार परिणाम ल्याउने कुरामा हामीलाई कसैले रोक्न सक्दैन।

अबको सरकार काँग्रेसको मात्रै नभनी ‘अबकी बार सय पार’का नारा लगाउन समेत कार्यकर्तालाई सभापति थापाको आग्रह छ।